काठमाडौं, असार २३ :

स्पेनसँग पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय भविष्यबारे तत्काल निर्णय नगर्ने बताएका छन्।

स्पेनका मिकेल मेरिनोले खेलको अन्तिम समयमा गरेको निर्णायक गोलको मद्दतमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै अन्तिम–१६ बाट बाहिर्यायो। यससँगै ४१ वर्षीय रोनाल्डोको अन्तिम विश्वकप यात्रा पनि समाप्त भएको छ।

खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै रोनाल्डोले स्पेनले गोल गर्न केही भाग्यको साथ पाएको बताए।

उनले भने, “यसरी विश्वकपबाट बाहिरिनुपर्दा दुःख लागेको छ। मैले आफ्नो तर्फबाट सक्दो सबै प्रयास गरेँ र कुनै पछुतो बिना फर्किँदै छु। यो मेरो अन्तिम विश्वकप थियो, तर अब म परिवारसँग समय बिताउनेछु र शान्त भएर भविष्यबारे सोच्नेछु। म हतारमा कुनै निर्णय लिने छैन।”

यद्यपि रोनाल्डोले पोर्चुगलका लागि आफ्नो अन्तिम खेल यही थियो वा होइन भन्नेबारे स्पष्ट रूपमा पुष्टि गरेनन्। उनले व्यक्तिगत निर्णयले टोलीको अभियानलाई ओझेलमा पार्न नचाहेको बताए।

“भावनामा बगेर म कुनै निर्णय लिँदिनँ,” उनले भने।

सन् २०१६ को युरोपियन च्याम्पियनसिप तथा २०१९ र २०२५ को नेसन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेका रोनाल्डोले राष्ट्रिय टोलीमा आफ्नो योगदानप्रति गर्व व्यक्त गरे।

उनले भने, “मैले पोर्चुगलका लागि तीनवटा उपाधि जितेको छु। क्रिस्टियानो रोनाल्डोअघि पोर्चुगलले एउटा पनि ठूलो उपाधि जितेको थिएन। २०१६ को युरोपियन च्याम्पियनसिप मेरो लागि विश्वकप जित्नुभन्दा कम महत्त्वपूर्ण छैन।”

यस पराजयसँगै प्रशिक्षक रोबर्टो मार्टिनेजको पोर्चुगलसँगको कार्यकाल पनि समाप्त भएको छ। रोनाल्डोले मार्टिनेजको खुलेर प्रशंसा गरे।

“उहाँसँग काम गर्न पाउँदा निकै खुसी लागेको थियो। उहाँ उत्कृष्ट प्रशिक्षक र असल व्यक्ति हुनुहुन्छ। पोर्चुगलका लागि उहाँले गरेको योगदान प्रशंसनीय छ। उहाँलाई धन्यवाद दिन चाहन्छु र भविष्यका लागि शुभकामना दिन्छु,” रोनाल्डोले भने।

उनले थपे “विश्वकपजस्तो ठूलो प्रतियोगिताबाट बाहिरिनु सधैं दुःखद हुन्छ। हाम्रो टोली राम्रो लयमा थियो र हामीले राम्रो खेल्यौं। खेल दुवैतर्फ जान सक्थ्यो, तर फुटबल यस्तै हो। अब हामी फेरि उठ्नुपर्छ र अगाडि बढ्नुपर्छ। यसरी बाहिरिनु निराशाजनक भए पनि हामी गर्वका साथ मैदान छाड्न सक्छौं।”