
प्रतीकात्मक तस्बिर ।
बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा निजको मृत्यु भएको हो ।
अस्पतालको डा. केडी जोशी जलन उपचार केन्द्रका प्रमुख डा. अपार लामिछानेका अनुसार ७० प्रतिशत शरीर जलेको अवस्थामा अस्पताल भर्ना हुनुभएका उहाँको उपचारका क्रममा मृत्यु भएको हो ।
“हामीले उहाँलाई बचाउन हरसम्भव प्रयास गर्यौँ तर अत्यधिक जलनका कारण बचाउन सकिएन । उहाँको अनुहारसहित श्वासप्रश्वास नलीमा पनि आगोले धेरै असर गरेको थियो,” डा लामिछानेले भने ।
पारिवारिक विवादका कारण व्यवसायी राउतले आफ्नै शरीरमा आगो लगाएको प्रहरीको भनाइ छ।
पछिल्लो तीन दिनमा तीन जनाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। बिहीबार मुगुका गणेश नेपालीले नगर प्रहरीसँग विवाद भएपछि आफ्नै शरीरमा आगो लगाएका थिए। उनको शुक्रबार उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ।
त्यस्तै, शुक्रबार सर्लाहीका विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। उनको अवस्था पनि गम्भीर रहेको छ।