
फाइल तस्बिर ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको छ।
झापाबाट काठमाडौं आएका प्रसाईंले विमानस्थल परिसरमै पत्रकार सम्मेलन गर्ने प्रयास गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले प्रसाईंलाई भ्यानमा राखेर भक्तपुरस्थित उनको घर पुर्याएको थियो।
घर पुगेपछि प्रसाईंले विमानस्थलमा आफूलाई बोल्न नदिइएको र प्रहरीले नियन्त्रणमा लिएको बताएका छन्। ‘मलाई विमानस्थलमा बोल्नै दिएन, प्रहरीले पक्रेर भ्यानमा हाल्यो। अहिले घरमै ल्याएर छाडेको छ,’ उनले भने।
प्रसाईंले आत्मदाह गरेका गणेश नेपालीको न्यायको माग गर्दै विमानस्थलमै सम्बोधन गर्न लागेका थिए। सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रसाईं यसअघि पनि विभिन्न राजनीतिक तथा सामाजिक मुद्दामा अभिव्यक्ति दिँदै आएका छन्।