काठमाडौं, असार ३० :

फिफा विश्वकप २०२६ को सेमिफाइनलमा युरोपका दुई फुटबल महाशक्ति फ्रान्स र स्पेन आमनेसामने हुँदैछन्। खेल भोली बिहान पौने १ बजे हुदैछ । 

दुवै टोलीबीच युरो कप, यूईएफए नेसन्स लिग तथा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा धेरै पटक प्रतिस्पर्धा भए पनि फिफा विश्वकपको इतिहासमा भने उनीहरू पहिलो पटक एकअर्काविरुद्ध खेल्न लागेका हुन्।

विश्व फुटबलमा दुवै टोलीको समृद्ध इतिहास छ। फ्रान्सले १९९८ र २०१८ मा गरी दुई पटक विश्वकप जितिसकेको छ भने स्पेनले २०१० मा पहिलो पटक विश्वकप उपाधि उचालेको थियो ।
१९९८ मा फ्रान्समै आयोजना भएको थियो। घरेलु मैदानमा खेल्दै फ्रान्सले फाइनलमा ब्राजिललाई ३–० ले पराजित गर्दै पहिलो पटक विश्वकप जितेको थियो। यसैगरी २०१८ फिफा विश्वकप  रुसमा आयोजना भएको थियो। फ्रान्सले फाइनलमा क्रोएसियालाई ४–२ ले हराउँदै दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो।

हेड–टु–हेड प्रतिस्पर्धामा भने दुवै टोलीबीच निकै कडा प्रतिस्पर्धा देखिएको छ। उनीहरू अहिलेसम्म विभिन्न प्रतियोगितामा ३७ पटक आमनेसामने हुँदा स्पेनले १७ खेल जितेको, फ्रान्सले १४ खेल आफ्नो पक्षमा पारेको र ६ खेल बराबरीमा सकिएको तथ्यांक छ।

हालका वर्षहरूमा भने फ्रान्स र स्पेनबीचका खेलहरू निकै रोमाञ्चक बनेका छन्। यूईएफए नेसन्स लिग २०२१ को फाइनलमा फ्रान्सले स्पेनलाई २–१ ले हराउँदै उपाधि जितेको थियो। त्यसपछि युरो २०२४ को सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

यसपटक विश्वकपको सेमिफाइनलमा हुने भेटले नयाँ इतिहास रच्नेछ, किनभने फिफा विश्वकपमा फ्रान्स र स्पेनबीच यो पहिलो प्रतिस्पर्धा हुनेछ। विजेता टोली फाइनलमा पुग्नेछ भने पराजित टोलीले तेस्रो स्थानका लागि खेल्नेछ।

अर्जेन्टिना र इंग्ल्यान्डबीच विश्वकपमा फेरि ऐतिहासिक भिडन्त, यसअघि पाँच पटक आमनेसामने

फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिना र इंग्ल्यान्डबीच बहुप्रतीक्षित प्रतिस्पर्धा हुँदैछ।यी दुई टोलीबीच पर्सि बिहान १:४५ बजे खेल हुनेछ ।

विश्व फुटबलका यी दुई परम्परागत प्रतिद्वन्द्वी विश्वकपमा यसअघि पाँच पटक आमनेसामने भइसकेका छन्। अब हुने सेमिफाइनल उनीहरूको विश्वकप इतिहासको छैटौं भेट हुनेछ।

अर्जेन्टिना र इंग्ल्यान्डबीच पहिलो विश्वकप भेट सन् १९६२ मा चिलीमा भएको थियो। समूह चरणको उक्त खेलमा इंग्ल्यान्डले अर्जेन्टिनालाई ३–१ ले पराजित गरेको थियो।

सन् १९६६ मा इंग्ल्यान्डमै आयोजित विश्वकपको क्वार्टरफाइनलमा यी दुई टोली पुनः भिडेका थिए। त्यस खेलमा इंग्ल्यान्ड १–० ले विजयी भएको थियो। अर्जेन्टिनाका कप्तान एन्टोनियो राट्टिनलाई विवादास्पद रातो कार्ड देखाइएपछि उक्त खेल निकै चर्चामा आएको थियो।

विश्व फुटबलकै सबैभन्दा चर्चित खेलमध्ये एक मानिने सन् १९८६ को क्वार्टरफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले हराएको थियो। यही खेलमा डिएगो म्याराडोनाले ‘ह्यान्ड अफ गड’ गोल र ‘गोल अफ द सेन्चुरी’का रूपमा चिनिने ऐतिहासिक गोल गरेका थिए।

सन् १९९८ को विश्वकपको अन्तिम १६ मा भएको खेल निर्धारित र अतिरिक्त समयसम्म २–२ को बराबरीमा सकिएको थियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले ४–३ को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। यस खेलमा इंग्ल्यान्डका डेभिड बेकह्यामले रातो कार्ड पाएका कारण खेल थप चर्चित बनेको थियो।

दुवै टोलीबीचको पछिल्लो विश्वकप भेट सन् २००२ मा भएको थियो। समूह चरणको उक्त खेलमा इंग्ल्यान्डले डेभिड बेकह्यामको पेनाल्टी गोलमा अर्जेन्टिनालाई १–० ले पराजित गरेको थियो।

विश्वकप इतिहासमा भएका पाँच भेटमध्ये इंग्ल्यान्डले तीन खेल जितेको छ भने अर्जेन्टिनाले दुई खेल आफ्नो पक्षमा पारेको छ।