काठमाडौ, असार ३० :

फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा आज राती पौने १ बजे फ्रान्स र स्पेन आमनेसामने हुँदैछन्। दुवै टोलीले यस संस्करणमा अहिलेसम्म कुनै पनि खेलमा पछि नपरी सेमिफाइनलसम्मको यात्रा तय गरेका छन्। तर अब यी दुईमध्ये केवल एक टोलीले मात्र फाइनलमा स्थान बनाउनेछ।

विश्व फुटबलका दुई शक्तिशाली राष्ट्रबीचको यो खेल अमेरिकाको डलासस्थित एनएफएल टोली डलास काउबोइजको घरेलु मैदानमा हुनेछ। फ्रान्स र स्पेन दुवैले १७औं पटक विश्वकप खेलिरहेका छन्।

फिफा विश्व वरीयताको शीर्ष स्थानमा रहँदै प्रतियोगितामा प्रवेश गरेको फ्रान्सले हालसम्म विपक्षीविरुद्ध १४ गोल गर्दा केवल दुई गोल मात्र बेहोरेको छ। फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पे उत्कृष्ट लयमा छन्। सन् २०२२ का गोल्डेन बुट विजेता एमबाप्पेले यस विश्वकपमा आठ गोल गरिसकेका छन्, जसले उनलाई अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीसँग संयुक्त रूपमा सर्वाधिक गोलकर्ताको स्थानमा पुर्‍याएको छ। साथै, विश्वकप करियरमा उनको कुल गोल संख्या २० पुगेको छ, जुन मेस्सीको २१ गोलको कीर्तिमानभन्दा केवल एक गोलले कम हो।

फ्रान्सका मिडफिल्डर एड्रियन राबियोटले टोली आफ्नो प्रदर्शनप्रति आत्मविश्वासी भए पनि विनम्रता कायम राख्दै मैदान उत्रने बताए। उनले प्रतियोगिताको सुरुदेखि देखाएको अनुशासन र नम्रताले टोलीलाई सफल बनाएको उल्लेख गरे।

२७ वर्षीय एमबाप्पेले विश्वकपका २० खेलमा २० गोल गरेका छन्। उनले सन् २०१८ को विश्वकप फाइनलमा क्रोएसियाविरुद्ध गोल गर्दै महान् ब्राजिली खेलाडी पेलेपछि किशोर अवस्थामै विश्वकप फाइनलमा गोल गर्ने दोस्रो खेलाडी बनेका थिए।

फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्प्सले क्वार्टरफाइनलमा मोरक्कोविरुद्ध गोल गरेपछि ७७औं मिनेटमा मैदान छाडेका एमबाप्पेको शारीरिक अवस्था सामान्य रहेको र उनी स्पेनविरुद्ध खेल्न तयार रहेको बताएका छन्।

यामालको आत्मविश्वास : ‘फ्रान्सले हामीसँग डराउनुपर्छ’

स्पेनका युवा स्टार लामिन यामालले फ्रान्सविरुद्धको विश्वकप सेमिफाइनलअघि आफ्नो टोलीप्रति पूर्ण विश्वास व्यक्त गरेका छन्। उनले फ्रान्सले स्पेनसँग डराउनुपर्ने प्रतिक्रिया दिएका छन्।

सोमबार १९ वर्ष पुगेका यामालले यसअघि पनि फ्रान्सविरुद्ध स्पेनलाई दुई महत्वपूर्ण सेमिफाइनल जित दिलाउन भूमिका खेलेका छन्। सन् २०२४ को युरोपियन च्याम्पियनसिप सेमिफाइनलमा १७औँ जन्मदिन हुन केही दिन बाँकी रहँदा उनले फ्रान्सविरुद्ध २–१ को जितमा गोल गरेका थिए। त्यसपछि गत वर्ष यूईएफए नेसन्स लिगमा पनि स्पेनले फ्रान्सलाई ५–४ ले हराएको थियो।

बेल्जियममाथि क्वार्टरफाइनल जितपछि यामालले भने, “मेरो विचारमा फ्रान्सले यदि कसैसँग डराउनुपर्छ भने त्यो हामीसँग हो। यसअघि पनि हामीले उनीहरूलाई प्रतियोगिताबाट बाहिरिएको याद गराएका छौं।”

यस विश्वकपमा यामालले १० वटा अन टार्गेट प्रहार गरेका छन्, तर केवल एक गोल मात्र गर्न सफल भएका छन्। उनी अझै बायाँ ह्यामस्ट्रिङको समस्याबाट पूर्ण रूपमा निको भइसकेका छैनन्। यही चोटका कारण उनले स्पेनिस क्लब बार्सिलोनाबाट सिजनका अन्तिम केही खेल पनि गुमाएका थिए।

विश्वकप सेमिफाइनललाई आफ्नो करियरकै सबैभन्दा महत्वपूर्ण खेलको रूपमा लिँदै यामालले जित नै आफ्नो जन्मदिनको सबैभन्दा ठूलो उपहार हुने बताए।

उनले भने, “यो मेरो जीवनकै सबैभन्दा महत्वपूर्ण खेल हुनेछ। मेरो जन्मदिनको सबैभन्दा राम्रो उपहार जित निकालेर फाइनलमा पुग्नु हुनेछ। हामी सबै निकै उत्साहित छौं, विशेषगरी म।”

फ्रान्सका डिफेन्डर जुल्स कुण्डे पनि बार्सिलोनाबाट यामालसँगै खेल्ने भएकाले उनी यामाललाई राम्रोसँग चिन्छन्। यामालको अभिव्यक्तिलाई आफूले अपमानजनक रूपमा नलिएको भन्दै कुण्डेले मैदानमा प्रदर्शनले नै सबै कुरा तय गर्ने बताएका छन्।

कुण्डेले भने– यामाल आफ्नै क्षमतामा विश्वास गर्छन्, स्पेन उत्कृष्ट लयमा

फ्रान्सका डिफेन्डर जुल्स कुण्डेले स्पेनका युवा स्टार लामिन यामाल आत्मविश्वासी खेलाडी भएको बताएका छन्। बार्सिलोनामा यामालसँगै खेल्ने कुण्डेले यामालले आफ्नै क्षमता र टोलीको सामर्थ्यमाथि विश्वास गर्ने गरेको उल्लेख गरे।

कुण्डेले भने, “उसले बार्सिलोनामा पनि सधैं यस्तै गर्छ। उसलाई आफ्ना क्षमता र आफू खेल्ने टोलीको गुणस्तरमा धेरै विश्वास छ। त्यो उसको अतिरिक्त प्रेरणा मात्र हो, त्यसभन्दा बढी केही होइन।”

स्पेनले समूह चरणको पहिलो खेलमा आश्चर्यजनक टोली केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि उत्कृष्ट लय समातेको छ। त्यसयता स्पेनले विपक्षीविरुद्ध १० गोल गर्दै केवल एक गोल मात्र बेहोरेको छ।

स्पेनको लगातार दुई खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मिकेल मेरिनो निर्णायक सावित भएका छन्। क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध उनले ८८औँ मिनेटमा विजयी गोल गर्दै स्पेनलाई २–१ को जित दिलाएका थिए।

यसअघि अन्तिम १६ मा पोर्चुगलविरुद्ध पनि मेरिनोले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै स्पेनलाई १–० को जित दिलाएका थिए। फ्रान्सविरुद्धको सेमिफाइनल पनि यही मैदानमा खेलिनेछ।

स्पेनका गोलरक्षक उनाइ सिमोनले पनि उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले विश्वकपमा लगातार ६५० मिनेटसम्म कुनै गोल नखाई नयाँ कीर्तिमान बनाएका थिए। उनको त्यो कीर्तिमान बेल्जियमविरुद्धको क्वार्टरफाइनलमा ४१औँ मिनेटमा गोल खाएसँगै रोकिएको थियो।

स्पेनका मिडफिल्डर एलेक्स बाएनाले प्रतियोगिताको सुरुआतमा टोलीले आफ्नो लय समात्न केही समय लागेको बताए। उनका अनुसार लामो समयपछि सबै खेलाडी एकसाथ भएकाले सुरुआती खेलमा तालमेल मिलाउन समय लागेको थियो।

उनले भने, “पहिलो खेलदेखि आजसम्म टोलीले लय समात्न आवश्यक थियो। हामी लामो समयपछि एकसाथ भएका थियौं। जति धेरै खेल र अभ्यास हुँदै गयो, टोलीको प्रदर्शन त्यति नै उत्कृष्ट बन्दै गएको छ।”