
फिफा विश्वकप २०२६ अन्तर्गत बुधबार हुने इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको बहुप्रतीक्षित सेमिफाइनल खेलमा मोरक्कोमा जन्मिएका अमेरिकी फुटबल रेफ्री इस्माइल एलफाथले खेल सञ्चालन गर्ने भएका छन्।
४४ वर्षीय एलफाथका लागि यो यस विश्वकपको चौथो खेल हुनेछ। यसअघि उनले समूह चरणमा जापान र नेदरल्यान्ड्सबीचको २–२ को बराबरी तथा स्पेनले उरुग्वेलाई १–० ले हराएको खेल सञ्चालन गरेका थिए। साथै अन्तिम १६ मा नर्वेले ब्राजिललाई २–१ ले स्तब्ध पारेको खेलमा पनि उनी नै मुख्य रेफ्री थिए।
मोरक्कोबाट अमेरिका
मोरक्कोको कासाब्लांकामा जन्मिएका एलफाथ सन् २००१ मा १७ वर्षको उमेरमा अमेरिकी डाइभर्सिटी भिसा कार्यक्रम (त्यतिबेला ‘डाइभर्सिटी लोटरी’ भनेर चिनिने) अन्तर्गत अमेरिका पुगेका थिए।
उनले टेक्सास विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका छन्। त्यसपछि उनी अमेरिकी नागरिक बनेका थिए।
हाल उनी एलफाथ टेक्सास राज्यको अस्टिन सहरमा बसोबास गर्दै आएका छन्।
एमएलएसदेखि विश्वकपसम्मको यात्रा : संयोगले बने रेफ्री इस्माइल एलफाथ
इस्माइल एलफाथको रेफ्री बन्ने यात्रा योजनाबद्धभन्दा पनि संयोगपूर्ण थियो। उनले सुरुआतमा रेफ्री होइन खेलाडीका रूपमा फुटबल खेलेका थिए। उनी अमेरिकाको यूएसएल लिग टु अन्तर्गतको एमेच्योर क्लब अस्टिन लाइटनिङका लागि स्ट्राइकरको भूमिकामा खेल्थे।
खेलाडी हुँदा रेफ्रीहरूको निर्णयप्रति असन्तुष्ट रहने एलफाथले अन्ततः आफैं सिटी समात्ने निर्णय गरेका थिए।
सन् २०२२ मा अस्टिन क्रोनिकलसँगको अन्तर्वार्तामा उनले भनेका थिए “म निकै आवेगमा आउने खेलाडी थिएँ। म सधैं लिग सञ्चालन गर्ने व्यक्तिसँग रेफ्रीको निर्णयबारे गुनासो गर्थें। एक दिन उनले भने ‘तिमी त सधैं गुनासो गर्छौ, बरु आफैं रेफ्री किन बन्दैनौ?’”
त्यसपछि एलफाथले रेफ्रीसम्बन्धी तालिम लिए र युवा प्रतियोगिता,विद्यालयस्तरीय खेल तथा अर्धव्यावसायिक लिगमा खेल सञ्चालन गर्न थाले।
रेफ्रीको जिम्मेवारीसँगै उनले सूचना प्रविधि (आईटी) बिक्री क्षेत्रमा पूर्णकालीन जागिर पनि निरन्तर गर्दै आएका थिए। यही अनुभव र निरन्तर मेहनतले उनलाई अन्ततः विश्व फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकपसम्म पुर्याएको हो।
एमएलएसदेखि विश्वकप फाइनलसम्म : रेफ्री इस्माइल एलफाथको प्रेरणादायी यात्रा
इस्माइल एलफाथले सन् २०११ मा अमेरिकाको शीर्ष फुटबल लिग मेजर लिग सकर (एमएलएस) मा चौथो रेफ्रीका रूपमा जिम्मेवारी सम्हाल्दै व्यावसायिक रेफ्री करियरको नयाँ अध्याय सुरु गरेका थिए। त्यसको एक वर्षपछि उनी एमएलएसका मुख्य रेफ्री बने।
सन् २०१६ मा एलफाथलाई आधिकारिक रूपमा फिफा रेफ्रीको मान्यता प्रदान गरियो। सोही वर्ष उनी विश्व फुटबल इतिहासको एउटा महत्वपूर्ण क्षणका साक्षी पनि बने। न्युयोर्क रेड बुल्स–२ र ओर्लान्डो सिटी बी बीचको यूएसएल खेलमा विश्वमै पहिलोपटक मैदानभित्र भिडियो सहायक रेफ्रीको समीक्षा प्रयोग भएको थियो जसको मुख्य रेफ्री एलफाथ नै थिए।
एमएलएसमा १४ वर्षको करियरमा उनले दुई पटक ‘रेफ्री अफ द इयर’ (२०२० र २०२२) अवार्ड जितेका छन्।
ओलम्पिकदेखि विश्वकपसम्म
टोकियो ओलम्पिक २०२० र अफ्रिका कप अफ नेसन्स २०२१ जस्ता प्रतिष्ठित प्रतियोगितामा खेल सञ्चालन गरेपछि एलफाथले सन् २०२२ को कतार विश्वकपमार्फत सिनियर विश्वकपमा डेब्यु गरेका थिए।
त्यतिबेला उनले भनेका थिए “म तीन हिसाबले अल्पसंख्यक हुँ—आप्रवासी, अफ्रिकी मूलको र मुस्लिम। अमेरिकाको एकमात्र प्रतिनिधिका रूपमा यो मेरो लागि ठूलो जिम्मेवारी हो। यसले एउटा सन्देश दिन्छ सबै कुरा सम्भव छ।”
उत्तर अमेरिकाका उत्कृष्ट रेफ्रीमध्ये एक मानिने एलफाथले कतार विश्वकपमा दुई समूह चरणका खेल र एक नकआउट खेल सञ्चालन गरेका थिए। साथै अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराएर उपाधि जितेको ऐतिहासिक फाइनलमा उनी चौथो रेफ्रीको भूमिकामा थिए।
कतार विश्वकपका क्रममा एलफाथको एउटा मानवीय व्यवहारले पनि धेरैको ध्यान तानेको थियो। ब्राजिलविरुद्ध इन्जुरी समयमा विजयी गोल गरेपछि जर्सी खोलेर उत्सव मनाएका क्यामरुनका कप्तान भिन्सेन्ट अबुबाकरलाई दोस्रो पहेंलो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाउनुपरे पनि एलफाथले मुस्कुराउँदै उनीसँग हात मिलाएका थिए। खेल नियमअनुसार निर्णय गरे पनि खेलाडीप्रतिको सम्मान देखाएको उनको यो व्यवहारको व्यापक प्रशंसा भएको थियो।
दोस्रो विश्वकपमा एलफाथ, इंग्ल्यान्ड–अर्जेन्टिना सेमिफाइनलमा अमेरिकी अफिसियलहरूको टोली
फिफा विश्वकप २०२६ इस्माइल एलफाथको दोस्रो विश्वकप सहभागिता हो। यस संस्करणमा उनीसहित अमेरिकाका कीर्तिमानी आठ जना फुटबल रेफ्री प्रतियोगितामा सहभागी छन्।
हालसम्म यस विश्वकपमा उनले सञ्चालन गरेका तीन खेलमा एलफाथले सात पहेंलो कार्ड र एक रातो कार्ड देखाएका छन्। उनले उरुग्वेका अगस्टिन कानोब्बियोलाई स्पेनका पाउ कुबार्सीमाथि खतरनाक ट्याकल गरेपछि रातो कार्ड दिएका थिए।
बुधबार हुने इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको सेमिफाइनलमा एलफाथलाई उनका अमेरिकी सहायक रेफ्री कोरी पार्कर र काइल एटकिन्सले साथ दिनेछन्।
यस्तै इटालीका माउरिजियो मारियानी चौथो अफिसियलका रूपमा रहनेछन् भने उनका सहकर्मी डानिएले बिन्डोनी रिजर्भ सहायक रेफ्रीको जिम्मेवारीमा रहनेछन्।
अर्जेन्टिनाको अघिल्लो खेलमा रेफ्री विवाद
अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको क्वार्टरफाइनल खेलमा रेफ्रीको निर्णय विवादमा परेको थियो। खेलको ७०औँ मिनेटमा स्विट्जरल्यान्डका फरवार्ड ब्रिल एम्बोलोलाई रातो कार्ड देखाइएको थियो। तर खेलपछि सार्वजनिक भएको रिप्ले र फिफाको स्पष्टीकरणअनुसार फाउल गर्ने खेलाडीको पहिचानमा त्रुटि हुँदा एम्बोलोलाई गल्तीवश मैदानबाट बाहिर पठाइएको थियो।
फिफाले पछि उक्त घटनालाई गलत खेलाडीको पहिचानको घटना भएको स्वीकार गरेको थियो। तर फिफाले अर्जेन्टिनालाई कुनै विशेष फाइदा पुर्याउने गरी रेफ्री निर्णय भएको भन्ने आरोप अस्वीकार गर्दै आएको छ। फिफाको भनाइमा रेफ्री चयन र निर्णय प्रक्रिया स्वतन्त्र तथा नियमअनुसार हुने गरेको छ।
रेफ्रीको निर्णयको फुटबल विश्लेषक, समर्थक तथा पूर्व खेलाडीहरूले व्यापक आलोचना गरेका थिए। धेरैले रेफ्री र भिडियो सहायक रेफ्री टोलीले खेलाडीको पहिचान पुष्टि नगरी गम्भीर निर्णय गरेको भन्दै प्रश्न उठाएका थिए।
यद्यपि विवादका बीच पनि अर्जेन्टिनाले खेल ३–१ ले जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो। अब इंग्ल्यान्डविरुद्धको सेमिफाइनलका लागि फिफाले मोरक्कोमा जन्मिएका अमेरिकी रेफ्री इस्माइल एलफाथलाई मुख्य रेफ्रीको जिम्मेवारी दिएको छ।
एलफाथको टोलीबाट निष्पक्ष र विवादरहित खेल सञ्चालन हुने अपेक्षा गरिएको छ।अर्जेन्टिना र इंग्ल्यान्डबीचको खेल ऐतिहासिक तथा भावनात्मक प्रतिस्पर्धाका कारण निकै संवेदनशील मानिन्छ। त्यसैले एलफाथको निर्णय, खेल नियन्त्रण गर्ने क्षमता र निष्पक्षतामाथि विश्वभरका समर्थकको विशेष नजर रहनेछ।