काठमाडौं, असार ३२ :

इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक पुरुष विश्वकपको फाइनलमा पुग्ने संघारमा थियो।

एटलान्टा स्टेडियममा साविक विजेता अर्जेन्टिनाविरुद्ध ८४औँ मिनेटसम्म १–० को अग्रता बनाएको इंग्ल्यान्डले अन्तिम क्षणमा लगातार दुई गोल खाँदा फाइनल पुग्ने सपना चकनाचुर भयो।८५औँ मिनेटमा एन्जो फर्नान्डेजले शक्तिशाली प्रहारमार्फत बराबरी गोल गरे भने ९२औँ मिनेटमा लाउटारो मार्टिनेजले हेडमार्फत विजयी गोल गरे। दुवै गोलका लागि लियोनेल मेस्सीले असिस्ट दिएका थिए।

यससँगै केही मिनेटअघिसम्म फाइनलको नजिक पुगेको इंग्ल्यान्ड विश्वकपबाट बाहिरियो।इंग्ल्यान्डले ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलमार्फत अग्रता लिएको थियो। त्यसपछि टोलीले रक्षात्मक रणनीति अपनायो, जसको महँगो मूल्य चुकाउनुपर्‍यो।मुख्य प्रशिक्षक थोमस टुचेलको रक्षात्मक रणनीति उल्टै टोलीका लागि घातक साबित भयो।

अब अर्जेन्टिनाले आइतबार न्युयोर्क–न्यु जर्सी स्टेडियममा स्पेनसँग विश्वकपको फाइनल खेल्नेछ।

प्रश्न उठेको छ—१–० ले अघि भएपछि इंग्ल्यान्डले दोस्रो गोलका लागि आक्रामक खेल्नुपर्ने थियो कि?

तथ्यांकअनुसार अग्रता लिएपछि दोस्रो गोल खाँदासम्म इंग्ल्यान्डको बल नियन्त्रण (पोजेसन) केवल १२ प्रतिशत मात्र थियो।

टुचेलले आक्रमणकारी खेलाडी मार्कस रासफोर्ड र आइभान टोनीलाई इन्जुरी समयतिर मात्र मैदान पठाए। त्यसअघि भने अग्रता लिएपछि उनले रक्षक एज्री कोन्सा, ड्यान बर्न र निको ओ'राइलीलाई मैदानमा उतारेका थिए।

पूर्व इंग्ल्यान्ड कप्तान वेन रुनीले एक अन्तर्वार्तामा भने, “हामी दबाबमा भत्कियौं। यसको सुरुआत प्रशिक्षकको निर्णयबाट भयो। टोली अत्यन्तै निष्क्रिय बन्यो।”

उनले थपे, “विश्व विजेता जस्तो टोलीविरुद्ध यस्तो रणनीति अपनाएर उम्किन सकिँदैन। यो हाम्रो सबैभन्दा ठूलो परीक्षा थियो, र हामी त्यसमा असफल भयौं।”