
रुपन्देही, असार ३२ :
रुपन्देही प्रहरीले कोठा भाडामा लिएर नक्कली नेपाली नोट छाप्ने गिरोहका एक भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ।
प्रहरीले १ हजार दरका नक्कली नोट, अत्याधुनिक फोटोकपी मेसिन, ल्यापटप, प्रिन्टर, नोट कटिङ मेसिन, विशेष कागज, लेमिनेसन मेसिन, केमिकल तथा ६ थान मोबाइल बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकी गंगा कुमारी पुर्वछानेले दुई थान नक्कली हजारका नोट प्रयोगमा ल्याएपछि उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
त्यसक्रममा बुटवल–१३ जितगढीस्थित भाडाको दुई कोठामा नक्कली नोट छाप्ने काम भइरहेको खुलेपछि संयुक्त प्रहरी टोलीले गिरोहलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।