काठमाडौं, साउन २ :

करिब दुई दशकअघि फोटोग्राफर जोआन मोनफोर्टले लामो कपाल भएका किशोर लियोनेल मेसीले एउटा सानो प्लास्टिकको टबमा प्यारा शिशुलाई नुहाइदिएको फोटो खिच्दा त्यसलाई सामान्य फोटोसुटभन्दा बढी केही ठानेका थिएनन्। तर वर्षौंपछि त्यो शिशु नै स्पेनका उदाउँदा स्टार लामिन यामाल भएको तथ्य सार्वजनिक भएपछि ती तस्बिर विश्वभर चर्चाको विषय बनेका छन्।

अब साबुनको फिँजले ढाकिएका हातले मेसीले यामाललाई नुहाइरहेको जस्तो देखिने ती तस्बिरहरू आइतबार हुने विश्वकप फाइनलअघि सबैभन्दा धेरै चर्चा र चासोको केन्द्र बनेका छन्। फाइनलमा मेसीको अर्जेन्टिना र यामालको स्पेन विश्व फुटबलको सबैभन्दा ठूलो उपाधिका लागि आमनेसामने हुँदैछन्।

शुक्रबार बार्सिलोनास्थित आफ्नै घरबाट एक अन्तराष्ट्रिय संचारमाध्यमसंग कुरा गर्दै मोनफोर्टले भने, "म कहिल्यै पनि भाग्य वा नियतिमा विश्वास गर्ने व्यक्ति थिइनँ। तर अहिले भने मलाई आफ्नै विश्वासमा शंका लाग्न थालेको छ। यो सामान्य तर्कले व्याख्या गर्न सकिने विषय होइन।"

मोनफोर्टले यी तस्बिर सन् २००७ मा स्थानीय पत्रिका स्पोर्ट र युनिसेफले संयुक्त रूपमा तयार पारेको परोपकारी क्यालेन्डरका लागि खिचेका थिए।

संयोगवश,बार्सिलोना नजिकैको मातारो सहरका परिवारहरूबीच गरिएको चिठ्ठाबाट यामालकी आमाले उक्त फोटोसुटमा सहभागी हुने अवसर पाएकी थिइन्। त्यसपछि भाग्यले यामाललाई अर्जेन्टिनाका युवा खेलाडी मेसीसँग फोटो खिच्ने अवसर जुराइदियो।

करिब १५ वर्षपछि त्यही शिशु बार्सिलोनाको स्टार खेलाडी बने जबकि मेसी विश्व फुटबल इतिहासकै महान् खेलाडीमध्ये एकका रूपमा स्थापित भए।

बार्सिलोनाबाट मेसीको बिदाइदेखि विश्वकप फाइनलसम्म यामालको यात्रा

बार्सिलोना आर्थिक संकटमा परेपछि लियोनेल मेसीले सन् २०२१ मा भावुक हुँदै क्लब छोडेका थिए। त्यसको दुई वर्षपछि लामिन यामालले त्यही क्लबबाट आफ्नो प्रतिभा विस्फोट गराउँदै विश्व फुटबलमा उदाए।

अब कथा एउटा अद्भुत संयोगमा आइपुगेको छ । प्लास्टिकको टबमा मेसीले नुहाइदिएको शिशुदेखि विश्वकप फाइनलसम्म। १९ वर्षीय यामालले अब आफूभन्दा २० वर्ष जेठा मेसीको सामना विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा गर्नेछन्।

शुक्रबार स्पेनी भाषामा बोल्दै मेसीले भने “उनी अहिले विश्वकै उत्कृष्ट खेलाडीहरूमध्ये एक हुन्। म उनको उज्ज्वल भविष्यको कामना गर्छु। उनी केवल १९ वर्षका छन् र उनको अगाडि अझ धेरै अवसर छन्।”

मेसीले पुरानो तस्बिर सम्झँदै थपे “त्यो तस्बिर साँच्चै अविश्वसनीय थियो। उनी त्यतिबेला सानो बच्चा थिए र अहिले हामी विश्वकप फाइनलमा एकअर्काविरुद्ध खेल्दै छौँ। कस्तो अनौठो संयोग! म उनलाई सफलताको शुभकामना दिन्छु।”