
काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटस्थित चाँदनी चोकमा जलेको निजी कारभित्र एक व्यक्तिको शव फेला परेको छ। मृतकको पहिचान भने हालसम्म खुल्न सकेको छैन। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।
प्रहरी परिसर काठमाडौंका अनुसार बिहान ११ बजेर २० मिनेटमा बा५च ३०३८ नम्बरको निजी गाडी सार्वजनिक स्थानमा रोकेर राखिएको अवस्थामा एक्कासि आगलागी भएको देखिएको थियो। केहीबेरपछि आगो निभाउने क्रममा गाडीभित्र एक व्यक्ति जलेको अवस्थामा रहेको थाहा भएको प्रहरीले जनाएको छ।उक्त कार नबिल बैंकबाट ऋण लिएर किस्तामा खरिद गरेको खुलेको छ ।
प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार कार धनीको पहिचान भए पनि चालक र धनी एकै हुन कि होइनन् भन्नेबारे अनुसन्धान भइरहेको छ ।घटनाको कारण खुल्न नसकेको भन्दै प्रहरीले घटनास्थललाई सुरक्षा घेरामा राखेर विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।