काठमाडौैं, साउन ५ :

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले छिट्टै स्वदेश फर्कने घोषणा गरेका छन्।  प्रतिशोध र निषेधको राजनीतिभन्दा माथि उठेर राष्ट्र निर्माण र साझा भविष्यका लागि सहकार्य आवश्यक रहेको उल्लेख गर्दै छिट्टै स्वदेश फर्किने घोषणा गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा देउवाले आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणप्रति पुनः विश्वास दिलाउँदै नेपाली भूमिमा पुनः पाइला टेक्न लागेको बताएका हुन्। नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासप्रति पूर्ण आस्था र समर्पणका साथ स्वदेश फर्किन लागेको उनको भनाइ छ। 

देउवाले सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने संकेत देखिएको दाबी गर्दै प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाइएको आरोप लगाएका छन्। उनले स्वतन्त्र न्यायपालिका, संवैधानिक संस्थाहरू तथा लोकतान्त्रिक प्रणालीमाथि दबाब सिर्जना गर्ने प्रयास भइरहेको र न्यायपालिका तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणको औजार बनाउन खोजिएको आरोप पनि लगाएका छन्।

उनले लोकतन्त्र कमजोर हुँदा राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता पनि दीर्घकालसम्म सुरक्षित रहन नसक्ने उल्लेख गर्दै लोकतन्त्रको रक्षा गर्नु नै राष्ट्रको रक्षा गर्नु भएको बताएका छन्।

देउवाले फागुनमा सम्पन्न निर्वाचनपछि नेपाली कांग्रेसले प्रतिपक्षको जिम्मेवार भूमिकाबाट लोकतन्त्र, सुशासन र राजनीतिक स्थिरताका लागि रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै वर्तमान परिस्थितिले कांग्रेसमाथि लोकतन्त्र, संविधान, राष्ट्रियता तथा मुलुकको भविष्य रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी थपिएको बताएका छन्।

उनले जननायक बिपी कोइरालाको २०३३ सालको राष्ट्रिय मेलमिलाप नीतिलाई स्मरण गर्दै व्यक्तिगत सुरक्षाभन्दा राष्ट्र, लोकतन्त्र र राष्ट्रिय एकतालाई सर्वोपरि राख्ने सोच आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन्।

देउवाले अहिले देशलाई विभाजन होइन एकता, अविश्वास होइन विश्वास र प्रतिशोध होइन सहकार्य आवश्यक रहेको बताए। इतिहासबाट प्राप्त अनुभव र नयाँ पुस्ताको ऊर्जा, प्रविधि तथा सिर्जनशीलतालाई एकताबद्ध गर्दै राष्ट्रिय संवाद र साझा सहकार्य अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन्।

साथै, राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपालीसँग उनले आह्वान गरेका छन्।  जेन्जी आन्दोलनमा पिटिएका देउवा दम्पती उपचारका लागि भन्दै सिंगापुर गएको थिए । हाल उनीहरु त्यहाँबाट हङकङ पुगेका छन्।