काठमाडौं, साउन ८ :

सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सकारात्मक देखिएका छन् । डा. केसीकै संघर्षले नेपालको चिकित्सा क्षेत्रमा सुधार आएको उल्लेख गर्दै मन्त्री पोखरेलले उनले उठाएका माग सम्बोधन गर्न सकारात्मक रहेको बताए।

शुक्रबार मन्त्री पोखरेलले डा. केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल सुरु गरेका छन्। डा. केसीका मागबारे बुझेपछि सम्बोधनका लागि पहल गर्ने उनले बताए। पहिल्यैदेखि डा. केसीको आन्दोलनमा साथ र समर्थन जनाउँदै आएका मन्त्री पोखरेलले भने, ‘म डा. केसीको फ्यान हुँ।’

सत्याग्रहमा बसेका डा. केसीलाई धर्मशाला छाड्न मन्दिर व्यवस्थापन समितिले किन पत्र थमायो?

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको नियुक्त खारेज गर्न माग राख्दै प्रा.डा. केसी सत्याग्रहमा बसेका हुन्। उपकुलपति र रजिस्ट्रारको निजी कलेजका सञ्चालकसँग नजिकको सम्बन्ध र साँठगाँठ रहेको उनको आरोप थियो । 

सरकारले गत असार ३१ मा प्राडा सुनिलकुमार जोशीलाई दशरथचन्द विश्वविद्यालयको उपकुलपति तथा डा. भीमबहादुर चन्दलाई रजिस्ट्रार नियुक्त गरेको थियो।