कैलाली, साउन ९ :

कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा पौडी खेल्ने क्रममा डुबेका १५ वर्षीय पुष्पराज चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । निज जोशीपुर गाउँपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–७ मनेहरामा बस्दै आएका थिए ।

साथीहरूसँग पौडी खेलिरहेका चौधरी डुबेको देखेपछि उद्धार गरी उपचारका लागि निःसर्ग अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा साँझ ५:०२ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

मृतकको शव शवपरीक्षणका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए ।