काठमाडौं, साउन ११ :

सुनसरीको देवानगञ्जमा भएको  झडपपछिको सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ।

गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाउँदै उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई खटाएको छ।

त्यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ। उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ। थेवेको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ।

यस्तै, सशस्त्र प्रहरी बल नेपाल, कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उनको स्थानमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डीएसपी मदननाथलाई खटाइएको गृह मन्त्रालयले जनाएको छ।

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो। घटनामा नौ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए।

घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।

यसैबीच, थप तनाव फैलिन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा बुधबार बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।