काठमाडौं, साउन १२ :

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तहरूको संसदीय सुनुवाइ मंगलबारदेखि सुरु भएको छ। पहिलो दिन निर्वाचन आयुक्तमा सिफारिस भएका व्यक्तिहरूको सुनुवाइका क्रममा प्रस्तावित आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाइ सुरु भएको हो। प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको सुनुवाइ भने बुधबार हुने तय भएको छ।

सुनुवाइका क्रममा प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न पाँच सम्भावित मतदान मोडल प्रस्तुत गरेका छन्। उनले विदेशस्थित नेपालीलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन आवश्यक कानुनी व्यवस्था निर्माण गर्नुपर्नेमा जोड दिँदै प्रारम्भिक चरणमा मिश्रित (हाइब्रिड) मतदान प्रणाली उपयुक्त हुने धारणा राखे।

वाग्लेले प्रस्तुत गरेका सम्भावित पाँच मतदान मोडलमा मतपेटिकामार्फत मतदान, हुलाकमार्फत मतदान, प्रतिनिधिमूलक मतदान, इन्टरनेटमार्फत मतदान तथा मिश्रित (हाइब्रिड) मतदान प्रणाली रहेका छन्।

उनले यी सबै मोडल व्यवहारिक अध्ययन र आवश्यक कानुनी व्यवस्थाका आधारमा क्रमिक रूपमा कार्यान्वयन गर्न सकिने उल्लेख गर्दै विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्नु लोकतान्त्रिक अभ्यासलाई थप समावेशी बनाउने कदम हुने बताए।

संवैधानिक परिषद्ले गत असार १९ गते प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्त पदमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गरेको थियो। त्यसपछि संसदीय सुनुवाइ समितिले असार २६ गते सार्वजनिक रूपमा उजुरी तथा सुझाव आह्वान गरेको थियो। समितिका सभापतिका अनुसार प्रस्तावित पदाधिकारीविरुद्ध एउटा उजुरी र एउटा सुझाव प्राप्त भएको छ।