सुनसरी, साउन १४ :

सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा गत आइतबार भएको प्रहरी गोलीकाण्डमा घाइते भएका अर्का एकजनाको पनि मृत्यु भएको छ। उपचाररत २७ वर्षीय जयप्रकाश मेहताको बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएसँगै घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।

अस्पताल प्रशासनका अनुसार मेहताको बिहीबार दिउँसो उपचारकै क्रममा मृत्यु भएको हो। उनको पेटमा गोली लागेको थियो। घटनापछि अस्पतालमा सुरक्षा सतर्कता बढाइएको छ। अस्पताल परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। जयप्रकाशको शव हाल न्युरो अस्पतालमै राखिएको छ।

यसअघि सोही घटनामा गम्भीर घाइते भएका देवानगन्ज गाउँपालिका–४ का २५ वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि अस्पताल पुर्‍याइएलगत्तै आइतबार राति मृत्यु भएको थियो। प्रहरीका अनुसार उनको शव पनि हालसम्म अस्पतालमै राखिएको छ।

गत आइतबार राति भएको उक्त घटनामा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको हो। गोली लागेर घाइते भएका अन्य ८ जनाको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।