
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्व फुटबलको सर्वोच्च निकायका प्रमुख प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजना अन्ततः रद्द गरिएको बताएका छन्।
व्यापक विरोधपछि उनले उक्त प्रस्तावले फुटबलभित्र विभाजन सिर्जना गरेको र अब त्यो यसको मूल उद्देश्यको हितमा नरहेको स्पष्ट भएको बताए।
स्विस नागरिक इन्फान्टिनोले भने यस कारण यो प्रस्ताव अब अघि बढाइने छैन।
इन्फान्टिनोले पुरुष तथा महिला विश्वकपसहित फिफाका प्रमुख प्रतियोगिताहरूमा निजी लगानी भित्र्याउने योजनाको समर्थन गरेबापत फिफाका सबै २११ सदस्य राष्ट्र संघलाई ४ करोड अमेरिकी डलर (करिब ३ करोड पाउन्ड) दिने प्रस्ताव गरेका थिए।
तर युरोपेली फुटबल महासंघ (यूईएफए) अन्तर्गतका सबै ५५ सदस्य संघहरूले बिहीबार उक्त योजना कार्यान्वयन भए विश्वकप बहिष्कार गर्ने निर्णय गरेका थिए।
फिफाका प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामुरले यस योजनाबारे फिफाको आफ्नै प्रशासनलाई समेत भ्रममा पारिएको" बताएका छन्।
इन्फान्टिनोका विश्वव्यापी रणनीति तथा सुशासनसम्बन्धी वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेइरोले पनि यस विषयमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन्। उनले उक्त प्रस्तावलाई फुटबलका लागि खराब सम्झौता भन्दै यसले फुटबलको भविष्य नै धितो राख्ने टिप्पणी गरेका छन्।
यसअघि नै दुई अन्य प्रमुख क्षेत्रीय फुटबल महासंघहरूले पनि योजनाको विरोध गरेका थिए।
उत्तर,मध्य अमेरिका तथा क्यारिबियन क्षेत्रको फुटबल नियामक संस्था कन्काकाफ जसले यस वर्षको विश्वकपको सह-आयोजना पनि गरेको थियो,उसले आफ्ना सदस्यहरूले प्रस्ताव अस्वीकार गरेको जनाएको छ। स्रोतहरूका अनुसार यस क्षेत्रका अधिकांश सदस्य संघहरूले इन्फान्टिनोप्रतिको विश्वास गुमाइसकेका छन् वा गुमाउँदै गएका छन्।
एशियाली फुटबल महासंघ (एएफसी) ले यूईएफए र कन्काकाफसँग ऐक्यबद्धता जनाएको छ। यता बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले इन्फान्टिनोलाई फिफाको नेतृत्व गर्न उपयुक्त व्यक्ति होइन भनेर टिप्पणी गरेका छन्।
५६ वर्षीय इन्फान्टिनो आगामी मार्चमा हुने फिफा कंग्रेसमा चौथो कार्यकालका लागि पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा छन्। तर यो विवादपछि उनीमाथि ठूलो दबाब परेको छ।
इन्फान्टिनोले अब फुटबलको साझा हितको भावनाका साथ सबै सरोकारवालालाई पुनः एउटै स्थानमा ल्याउने प्रयास गर्ने बताएका छन्।
इन्फान्टिनोको योजना पारित हुने सम्भावना कमजोर बनेको थियो
यूईएफए र कन्काकाफले प्रस्ताव अस्वीकार गरेपछि पनि फिफाले शुक्रबारसम्म आफ्नो योजना अघि बढाउने अडान लिएको थियो। फिफाले त्यसबेला कसैले पनि फुटबल बेचिरहेको छैन भन्दै प्रस्तावको बचाउ गरेको थियो।
तर पछि योजना रद्द गर्ने घोषणा गर्दै अध्यक्ष जियानी इन्फान्टिनोले फिफाका सदस्य संघहरूको बहुमत समर्थन आवश्यक रहेको स्वीकार गरे। फिफाका २११ सदस्यमध्ये कम्तीमा १०६ सदस्यले पक्षमा मतदान गर्नुपर्ने थियो।
तर एशियाली फुटबल महासंघ (एएफसी) पनि यूईएफए र कन्काकाफसँगै योजनाको विरोधमा उभिएपछि आवश्यक समर्थन जुट्ने सम्भावना अत्यन्त कमजोर बन्यो।
यूईएफएसँग ५५, कन्काकाफसँग ३५ र एएफसीसँग ४६ मत छन्।
यदि यी तीनै महासंघका सबै सदस्य राष्ट्रहरूले आफ्नो-आफ्नो महासंघको निर्णयलाई समर्थन गरेका भए इन्फान्टिनोको योजनाविरुद्ध १३६ राष्ट्रले मतदान गर्ने अवस्था बन्ने थियो।
अफ्रिकी फुटबल महासंघ र ओसियाना फुटबल महासंघले भने फिफाको प्रस्तावबारे अगस्ट महिनामा छलफल गर्ने बताएका थिए।
दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) ले प्रस्तावको दायरा, संरचना, सुशासन र सम्भावित प्रभाव सम्बन्धमा थप जानकारी तथा स्पष्टीकरण मागेको जनाएको थियो।
इन्फान्टिनोको योजना के थियो?
फिफा र अध्यक्ष इन्फान्टिनोले विश्वकपलगायत आफ्ना प्रमुख प्रतियोगिताहरू सञ्चालन गर्न एउटा नयाँ व्यावसायिक सहायक कम्पनी स्थापना गर्ने योजना बनाएका थिए जसमा बाह्य लगानीकर्ताले हिस्सेदारी किन्न सक्ने व्यवस्था हुने थियो।
फिफाले नयाँ सहायक संस्था फिफा फरवार्ड इन्टरप्राइजमा अल्पसंख्यक (Minority) तथा नियन्त्रण नपाउने लगानीका लागि तेस्रो पक्षलाई आमन्त्रण गर्ने जनाएको थियो।
इन्फान्टिनोले फुटबल महासंघहरूलाई प्रारम्भिक २ करोड अमेरिकी डलर (करिब १ करोड ५० लाख पाउन्ड) प्राप्त गर्न चाहने भए सेप्टेम्बर १९ भित्र योजना स्वीकार गर्नुपर्ने समय सीमा दिएका थिए।
लगानी बैंक जेपी मोर्गनले तयार पारेको २५ पृष्ठको दस्तावेजमा फिफाका प्रतियोगिताहरू विस्तार गरी सन् २०३५–२०३९ को अवधिमा प्रत्येक सदस्य संघले करिब २ करोड ४० लाख युरो (करिब २ करोड ५ लाख पाउन्ड) सम्म भुक्तानी प्राप्त गर्न सक्ने अनुमान प्रस्तुत गरिएको थियो।
दस्तावेजमा नयाँ व्यावसायिक पहलहरू र प्रोत्साहनमा आधारित पारिश्रमिकमार्फत उत्कृष्ट प्रतिभा आकर्षित गर्ने योजना उल्लेख गरिएको थियो।
त्यसमा विश्वकपलाई विश्वकै सबैभन्दा धेरै हेरिने खेलकुद प्रतियोगिता भनिएको थियो भने फिफा भने अझै आर्थिक रूपमा आफ्नो पूर्ण सम्भावना उपयोग गर्न नसकेको संस्था भएको उल्लेख गरिएको थियो।
तर उक्त दस्तावेजमा महिला फुटबलबारे कुनै उल्लेख गरिएको थिएन।
फिफाले प्रस्तावित लगानीकर्ता समूहको नेतृत्व अमेरिकी भेन्चर क्यापिटल कम्पनी थ्राइभ इटर्नलले गर्ने अपेक्षा गरिएको जनाएको थियो।
थ्राइभका संस्थापक जोशुआ कुशनर हुन् जो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरका भाइ हुन्।
शुक्रबार पहिलोपटक यस प्रस्तावबारे प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले आफूले इन्फान्टिनोसँग यस योजनाका बारेमा कुनै छलफल नगरेको बताए।
ट्रम्प सन् २०२५ मा दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति बनेपछि उनी र इन्फान्टिनोबीच घनिष्ठ सम्बन्ध विकास भएको मानिन्छ।