काठमाडौं, साउन १७ :

नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र लैङ्गिक समानता कायम गर्ने उद्देश्यका साथ ‘महिला शक्ति जागरण अभियान’को औपचारिक शुभारम्भ गरिएको छ।

आइतबार कल्किज्म रिसर्च एण्ड ट्रेनिङ सेन्टरको सहयोग तथा युवाहरूको सहकार्यमा सुरु गरिएको यस अभियानले महिला अधिकार, कानुनी सुधार र सामाजिक न्यायका विषयमा सार्वजनिक बहस प्रारम्भ गर्ने लक्ष्य राखेको छ। अभियानका तर्फबाट दाइजो प्रथा अन्त्य गर्न र महिलामाथिका हिंसा नियन्त्रण गर्न ५ बुँदे ‘कल्कि कानुन’ को प्रस्ताव समेत सार्वजनिक गरिएको छ। 

कार्यक्रममा बोल्दै कल्किज्म रिसर्च एण्ड ट्रेनिङ सेन्टरका अध्यक्ष डा. उमाशंकरले नेपालको तराइमा दाइजो प्रथा अत्यधिकरुपमा बढ्दै गएको उल्लेख गर्दे हजारौ युवतीहरुले दाइजोका कारण ज्यान गुमाउनुपर्ने अबस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले दाइजो प्रथा अन्त्य र समान खर्चको माग गर्दै ५ बुँदे प्रस्ताव सार्वजनिक गरिएको बताए ।

कार्यक्रममा बोल्दै नायिका तथा अभियन्ता रेखा थापाले नेपालमा सतीप्रथाको अन्त्यय भएपनि अझैपनि महिलाहरुले कुनै न कुनै रुपमा विभेद लगायत हिंसाको सामना गर्नुपरीरहेको बताइन् । उनले देशमा ठुला ठुला विकास निर्माण र सम्वृद्धिका कुरा गर्दे गर्दा महिलाहरुका विषय भने ओझेलमा परेको बताइन् ।

त्यस्तै पूर्वमिस नेपाल उषा खड्गीले महिला सम्बन्धी धरै कानुन बनेपनि कार्यान्वयनको पाटो भने सधै फितलो रहेको बताइन् ।

कार्यक्रममा बोल्दै अभियान्ताहरूले दाइजो कुप्रथालाई ३ वर्षभित्र देशबाट पूर्ण रूपमा अन्त्य गर्दै नेपाललाई विश्व गुरु बनाउने अभियानमा सम्पूर्ण सञ्चारमाध्यम र नागरिक समाजलाई सहयोग गर्न अपिल गरेका छन्।