काठमाडौं, साउन १९ :

कागेश्वरी मनोहरा नगरपालिका र टेक्सपायर कलेजबीच समुदायमा डिजिटल साक्षरता, सूचना प्रविधि तथा नवप्रवर्तनको पहुँच विस्तार गर्ने उद्देश्यले ‘कम्युनिटी टेक मेन्टरसिप प्रोग्राम’ सञ्चालनका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार कार्यक्रममार्फत विद्यार्थी तथा स्थानीय समुदायलाई डिजिटल सीप, सूचना प्रविधि, कोडिङ, नवप्रवर्तन र उद्यमशीलतासम्बन्धी ज्ञान तथा व्यावहारिक अनुभव प्रदान गरिनेछ। यसले समुदायस्तरमा प्रविधिमैत्री वातावरण निर्माण गर्नुका साथै युवापुस्तालाई भविष्यका लागि आवश्यक सीप विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।

नगर प्रमुख उपेन्द्र कार्कीले आफ्नो कार्यकालको सुरुदेखि नै सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राख्दै नगरपालिकालाई ‘आइटी हब’का रूपमा विकास गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम अघि बढाउँदै आएका छन्। टेक्सपायर कलेजसँग भएको यो सहकार्यलाई सोही दीर्घकालीन योजनाको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।

सम्झौतापछि नगर प्रमुख कार्कीले भने, “प्रविधि अब सहरमा मात्र सीमित रहने विषय होइन, यो समुदायसम्म पुग्नुपर्छ। विद्यार्थी र स्थानीय युवालाई डिजिटल सीप तथा नवप्रवर्तनसँग जोडेर कागेश्वरी मनोहरालाई प्रविधिमैत्री र ज्ञानमा आधारित नगरका रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो। टेक्सपायर कलेजसँगको यो सहकार्यले त्यस अभियानलाई थप प्रभावकारी बनाउने विश्वास लिएका छौं।”

टेक्सपायर कलेजका प्रतिनिधिहरूले पनि नगरपालिकासँगको सहकार्यले विद्यार्थी र समुदायबीच प्रविधिमैत्री शिक्षा विस्तार गर्न, दक्ष जनशक्ति उत्पादन गर्न तथा स्थानीय तहमा नवप्रवर्तनको संस्कृति विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।