
मल ल्याउन भारत गएका सर्लाहीका दुई दाजुभाइलाई जमानतमा रिहा गर्न आदेश भएको छ । भारतको सीतामढीस्थित डुमरा व्यवहार अदालतले बुधबार धरौटीमा रिहा गर्न आदेश दिएको हो।
सर्लाहीको बलरा नगरपालिका–५ का सुरेशप्रसाद सिंह (५५) र नागेन्द्रप्रसाद सिंह (६०) आफ्नै खेतका लागि रासायनिक मल ल्याउने क्रममा भारतमा पक्राउ परेपछि एक महिनाभन्दा बढी जेल बसेका दुवै जना जमानतमा रिहा हुने भएका छन्।
गत १७ असारमा दुई बोरा युरिया र छ बोरा डीएपी मल लिएर फर्किंदै गर्दा उनीहरूलाई एसएसबी र भारतीय कृषि विभागको टोलीले ‘मल तस्करी’ आरोपमा पक्राउ गरेको थियो।
सिंह दाजुभाइका कानुन व्यवसायी संजयकुमार झा र किरण चौधरीले बहस गरेका थिए। अदालतको आदेशअनुसार उनीहरू दुई दिनभित्र कारागारमुक्त हुनेछन्। रिहापछि पनि मुद्दाको सुनुवाइका लागि उनीहरूले प्रत्येक महिना एक पटक डुमरा अदालतमा तारेख धाउनुपर्नेछ।