काठमाडौं, साउन २४ :

ओमानले होर्मुज जलमार्ग  हुँदै सुरक्षित रूपमा जहाज आवागमन गराउने सम्झौताका लागि इरानसँग सकारात्मक वार्ता भइरहेको जनाएको छ। तर तेहरानले कुनै सम्झौता भए पनि त्यसले महत्वपूर्ण जलमार्ग तत्कालै पुनःखुल्ने ग्यारेन्टी नगर्ने चेतावनी दिएको छ।

शनिबार दुवै पक्षले वार्ता अघि बढिरहेको संकेत दिएका छन्। तर कुनै सम्झौता कहिलेसम्म अन्तिम रूप लिनेछ भन्ने स्पष्ट भइसकेको छैन। ओमानको विदेश मन्त्रालयले वार्तामा प्रगति भइरहेका बेला जहाजमाथि हुने कुनै पनि आक्रमणले त्यसलाई प्रभावित पार्न सक्ने भन्दै त्यस्ता गतिविधिविरुद्ध चेतावनी दिएको छ।

इरानका विदेशमन्त्री अब्बास अराघ्चीले वार्ता अन्तिम चरणमा पुगेको बताए। तर उनले जलमार्ग पुनःखुलाउने विषय अन्य सर्तहरूमा निर्भर रहेको स्पष्ट पारे।

अमेरिका र इजरायलले फेब्रुअरीमा इरानमाथि आक्रमण सुरु गरेपछि तेहरानले प्रभावकारी रूपमा यो जलमार्गमा नाकाबन्दीजस्तै अवस्था सिर्जना गरेको छ। सामान्य अवस्थामा विश्वभर प्रवाह हुने कुल तेल र प्राकृतिक ग्यासको करिब पाँच भागको एक भाग यही जलमार्ग हुँदै जाने गर्छ।

पछिल्ला केही दिनको वार्तामा इरान र ओमानबीच होर्मुज जलमार्ग हुँदै नयाँ जहाज मार्ग सञ्चालन गर्ने सम्भावित सम्झौतामा विशेष ध्यान दिइएको छ। प्रस्तावित मार्गको व्यवस्थापनमा दुवै देशको जिम्मेवारी रहनेछ र यसबाट समुद्री जहाज आवागमन पुनः सुरु गर्ने दिशामा प्रगति हुने अपेक्षा गरिएको छ।

तर विदेशमन्त्री अराघ्चीले सामान्य अवस्थामा अत्यधिक व्यस्त रहने उक्त समुद्री मार्ग पूर्ण रूपमा पुनःखोल्न अन्य सर्तहरू पनि पूरा हुनुपर्ने बताए। उनले ती सर्तबारे भने विस्तृत जानकारी दिएनन्।

उनका अनुसार ती सर्तमध्ये एउटा अमेरिकाबाट इरानले क्षतिपूर्ति पाउनु पनि हो। तेहरानले जूनमा दुवै पक्षबीच भएको युद्धविराम तथा युद्ध अन्त्यका लागि वार्ता अघि बढाउने सम्झौताको अमेरिकाले उल्लङ्घन गरेको आरोप लगाउँदै आएको छ।

उक्त सम्झौतालाई समझदारीपत्र भनिएको थियो। तर सम्झौता भएको केही समयमै त्यो कार्यान्वयन हुन सकेन। कूटनीतिक वार्तासमेत विफल भयो र सम्झौतामा हस्ताक्षर भएको केही दिनमै दुवै पक्षबीच एकअर्काविरुद्ध आक्रमण पुनः सुरु भएको थियो।