
चीनको पूर्वी क्षेत्रमा आएको टाइफुन डल्फिनका कारण सांघाईसहित पूर्वी चीनका विभिन्न क्षेत्रबाट १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
टाइफुन डल्फिन आइतबार साँझ चीनमा प्रवेश गरेको हो।
मौसमसम्बन्धी अधिकारीहरूका अनुसार टाइफुन डल्फिनले प्रति घण्टा १५० किलोमिटर (९४ माइल)सम्मको अधिकतम हावाको गति लिएर आइतबार साँझ ५:३० बजे झेजियाङ प्रान्तको युहुआनमा पहिलो पटक जमिनमा प्रवेश गरेको थियो। त्यसको करिब एक घण्टापछि उक्त आँधीले वेन्जाउ सहरमा दोस्रो पटक जमिन छोएको थियो।
टाइफुनका कारण यस क्षेत्रको यातायात सेवा नराम्ररी प्रभावित भएको छ। सांघाईमा मात्रै १ हजार ४ सय उडान रद्द गरिएको छ।
चिनियाँ अधिकारीहरूले यसअघि टाइफुन डल्फिनका लागि उच्चतम तहको रातो चेतावनी जारी गरेका थिए। तर सोमबार बिहानसम्म यसको स्तर घटाएर उष्णकटिबन्धीय आँधीमा झारिएको छ।
आँधी अझै पनि चीनको भित्री भूभागतर्फ अघि बढिरहेको छ। अधिकारीहरूले बुधवारसम्म मुसलधारे वर्षा, गम्भीर बाढी र पहिरोको जोखिम रहेको चेतावनी दिएका छन्।
सोमबार शानडोङ, हेनान, हुबेई, आन्हुई, जियाङ्सु, झेजियाङ प्रान्त तथा सांघाई सहरमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
स्थानीय सरकारले मानिसहरूलाई बाहिरी गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्।
यसैबीच सांघाईका डिज्नील्यान्ड र लेगोल्यान्डका केही भाग लगायत प्रमुख पर्यटकीय स्थलहरू बन्द गरिएका छन्। सांघाईको प्रसिद्ध द बन्ड क्षेत्रमा रहेका केही दृश्यावलोकन प्लेटफर्महरू पनि बन्द गरिएका छन्।