
नेपाली कांग्रेस संस्थापनइतर समूहका नेताहरुले पार्टीलाई एकढिक्का गर्न आफूहरुले प्रयास गरिरहेको बताएका छन् । कांग्रेस सिन्धु–काठमाडौं सम्पर्क समितिले सोमबार काठमाडौंमा आयोजना गरेको युवा भेलामा उनीहरुले पार्टीभित्र सबैलाई समावेश गरी एकताबद्ध बनाउने प्रयास गरिरहेको जनाएका हुन् । त्यसो त सभापति गगनकुमार थापाले पनि सबैलाई एकताबद्ध गरेर महाधिवेशनमा होमिने बताएका छन् । तर दुबै पक्षले एकताबद्ध भनिरहँदा किन नेताहरुको एकमन हुन सकिरहेको छैन ? भन्ने प्रश्न पार्टीका आम नेता कार्यकर्ताको रहेको छ ।
कार्यक्रममा कांग्रेस नेता डा शशांक कोइरालाले विरोधी वा अन्य नेताहरूलाई गाली–गलौज गर्नुको साटो मौन रहनु वा उपेक्षा गर्नु नै ठूलो जवाफ भएको धारणा राखे । पार्टीभित्र सबैलाई समावेश गरी एकताबद्ध बनाउनु नै मुख्य प्राथमिकता रहेको भन्दै उनले सबैको हातमा हात मिलाएर अघि बढ्न सहयोगको खाँचो रहेको बताए । उनले संघर्षपूर्ण इतिहास बोकेको कांग्रेस पनि झन् निखारिँदै जाने र देशको भविष्य कांग्रेसमै सुरक्षित रहने उल्लेख गरे ।
कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीलाई समग्र रूपमा मिलाउनका लागि १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनबाट आएको समितिलाई एउटै ठाउँमा राख्नुपर्ने बताए । तीन दिने राष्ट्रिय भेला कुनै व्यक्तिगत पदका लागि नभई पार्टीको आन्तरिक सुदृढीकरण र एकताका लागि आयोजना गरिएको उनले बताए ।
त्यस्तै कांग्रेसका अर्का नेता कृष्ण सिटौलाले सर्वोच्च अदालतले पार्टी एकताको बाटो खोलिदिएकाले संयमित, धैर्य र उत्साहवर्धक ढङ्गले देशभर पुगेर आफ्ना कुराहरू राख्ने बताए । उनले कांग्रेसका नेता तथा कार्यकर्ताहरू व्यक्तिगत स्वार्थका लागि नभई देश र राष्ट्रको सेवा गर्ने भावनाले सङ्गठित भएको उल्लेख गरे । विशेष महाधिवेशनबाट आएको नेतृत्वले अधिनायकवादी शैली अपनाएको उनले आरोप लगाए ।
त्यस्तै कांग्रेस नेता मोहन बस्नेतले कांग्रेसलाई फुटाउन नभई थप बलियो, जाँगरिलो, ठूलो र सशक्त बनाउन तथा मुलुकको भविष्य हाक्न सक्ने हैसियतको पार्टी निर्माण गर्न अभियान चलाइएको उल्लेख गरे।
नेता बस्नेतले यदि साउन २८ गतेसम्म गगन थापाले निकास नदिएमा २९ गतेदेखि पार्टीले नयाँ कार्यदिशा तय गरी नयाँ सुरुवात गर्न सक्ने चेतावनी दिए ।