
‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा सुरु एक्स्पोमा करिब ५५ भन्दा बढी ब्रान्ड सहभागी भएका छन् ।
एक्स्पोमार्फत ४० वटा नयाँ ब्रान्ड तथा मोडल सार्वजनिक गर्ने तयारी आयोजकको छ । दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको एक्स्पोमा दुईपांग्रे र चारपांग्रे सवारीसाधनसँगै कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड सवारी, मोबिलिटी प्रविधि, सेवा तथा यससँग सम्बन्धित विभिन्न उत्पादन प्रदर्शनमा रहेको नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले जानकारी दिइन्।
उनले एक वर्षअघि २१ सदस्य कम्पनीहरूबाट सुरु भएको संस्थामा हाल ३६ सदस्य कम्पनीहरू आबद्ध भइसकेका बताइन् । मोबिलिटीलाई केबल विलासिता वा सरकारको राजस्व सङ्कलनको माध्यमको रूपमा मात्र नहेरी, यसलाई पहुँच, कनेक्टिभिटी, अवसर तथा राष्ट्रिय विकासको अत्यावश्यक पूर्वाधारका रूपमा लिनुपर्नेमा उनले जोड दिए । नीति–नियममा पटक–पटक हुने परिवर्तनले अन्योल सिर्जना गर्ने भएकाले सरकारले निजी क्षेत्र तथा सरोकारवालाहरूसँग पर्याप्त छलफल र परामर्श गरेर मात्र स्थिर एवं पारदर्शी नीति ल्याउनुपर्ने उनले बताए ।
एक्स्पोलाई सवारीसाधन किनबेच र प्रदर्शनमा मात्र सीमित नराखी अटोमोबाइल व्यवसायी, प्रविधि, उपभोक्ता र अटोप्रेमीलाई जोड्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको अध्यक्ष बैद्यले उल्लेख गरिन् । एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।