काठमाडौं, साउन २७ :

कोलम्बियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १८० पुगेको छ ।

भवन तथा भग्नावशेषमुनि फसेका जीवित व्यक्तिहरूलाई उद्धार कार्य जारी छ ।  

मृतकमध्ये अधिकांश काली र पेरेइरा सहरका छन्।

स्थानीय समय अनुसार सोमबार बिहान ७:३४ बजे  ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो। यसको कम्पन पश्चिमी कोलम्बियाका सयौँ माइलसम्म फैलिएको विशाल क्षेत्रमा महसुस गरिएको थियो। मंगलबार पनि शक्तिशाली परकम्पहरू महसुस भइरहेका छन्।

मृतकको संख्या २४० भन्दा पनि बढी हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रपति अबेलार्डो दे ला एस्प्रिएल्लाले देशमा आपत्काल घोषणा गरेका छन्।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित सहरमध्ये एक पेरेइरामा मंगलबार अवस्थाबारे जानकारी दिँदै राष्ट्रपति एस्प्रिएल्लाले मृत्यु भएका व्यक्तिबाहेक करिब २ हजार ६ सय जना घाइते भएको र झन्डै २ सय जना अझै बेपत्ता रहेको बताए।

उनका अनुसार १ हजार १ सय भन्दा बढी घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ८ हजार भन्दा बढी घरमा क्षति पुगेको छ।

पेरेइरा र कालीजस्ता सहरमा धेरै मानिसले घरबाहिरै रात बिताए। केहीको घर भत्किएका कारण उनीहरू बाहिर बस्न बाध्य भएका थिए भने केही मानिस थप भवन भत्किने डरले घरभित्र जान सकेनन्।

देशभर दर्जनौँ ठूला भवनहरू पनि भत्किएका छन्।