
रोल्पामा पहिरोले पुरिंदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । ९ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाले दिएको जानकारी अनुसार पहिरोमा परेर थबाङ गाउँपालिका-५ का ६० वर्षीय कमलबहादुर पुनमगर, १८ वर्षीय शान्ती पुन मगर र ७१ वर्षीया मनरखी पुनमगरको मृत्यु भएको छ ।
रोल्पाको थबाङ गाउँपालिका-५ बोटलबारामा बुधबार राति घरमाथिबाट पहिरो झरेको थियो ।
पहिरोमा परेर २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन् ।पहिरोमा कमलबहादुर पुनमगरलगायत ६ वटा घर गोठहरु पुरिएका छन् ।
बेपत्ता हुनेमा सोही ठाउँकी ४० वर्षीया जुनकुमारी पुनमगर, ९ वर्षीय अशिम पुनमगर, ६ वर्षीय अशोक पुनमगर, ७५ वर्षीय डलबहादुर पुनमगर, ८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लिलबहादुर पुनमगर, ७१ वर्षीया मनी पुनमगर र ६७ वर्षीया हस्तकला रोकामगर रहेका छन् ।प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी राखिएको छ ।