काठमाडौं, भदौ ४ :

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी तथा पूर्वस्वकीय सचिव गंगा दाहालले सरकारले गर्ने जुनसुकै कानुनी अनुसन्धानमा आफू सहयोग गर्न तयार रहेको बताएकी छन्।

दाहालले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो तथा परिवारको सम्पत्ति विवरण सरकारसमक्ष यसअघि नै बुझाइसकेको जनाउँदै आवश्यक परे अनुसन्धानमा सहयोग गर्ने बताएकी हुन्।

‘हामीले हाम्रो सम्पत्ति विवरण सरकारसमक्ष केही समयअघिनै बुझाइसकेका छौँ। सरकारले गर्ने जुनसुकै अनुसन्धानका लागि हाम्रो सहयोग रहनेछ। गलत गरेको पुष्टि भए कारबाही भोग्नेछौँ,’ उनले लेखेकी छन्।

तर बिना कारण र गल्तीबिना आफूहरूमाथि लगाइने आरोप भने स्वीकार्य नहुने दाहालले चेतावनी दिएकी छन्। कानुनबमोजिम जुनसुकै निकायले गर्ने छानबिनका लागि आफू र आफ्नो परिवार सदैव तयार रहेको उनको भनाइ छ।

दाहालले आफूहरूमाथि समय–समयमा विभिन्न अफवाह फैलाउने गरिएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षणसमेत गराएकी छन्। यसैबीच सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालका स्वकीय सचिवहरूको सम्पत्तिमाथि छानबिन गर्ने तयारी अघि बढाएको छ। सोही सन्दर्भमा दाहालको यस्तो धारणा सार्वजनिक भएको हो।