भक्तपुर, भदौ ५ :

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका मोबाइल र ल्यापटप फरेन्सिक जाँचका लागि पठाइएको छ। बिहीबार राति उनको घरबाट प्रहरीले ६ वटा मोबाइल, एउटा ल्यापटप र सिसिटिभीको रेकर्डर रहने डिभाइस नियन्त्रणमा लिएर प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोली उनको घरमा पुगेर खानतलासी गरेको थियो। राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंको भक्तपुर परिसरमा विचाराधीन मुद्दाको अनुसन्धानका लागि ती डिभाइसहरू नियन्त्रणमा लिइएको बुझिएको छ । यद्यपि नियन्त्रणमा लिइएका ती डिभाइसहरुबाट कुनै शङ्कास्पद गतिविधि भएको भेटिएमा उनीमाथि थप अनुसन्धान र कारबाही हुनेछ ।

उनले आलोचना गर्ने गरेका व्यक्तिहरुको गोप्य सामग्रीहरु लिकेज  गर्दै आएका प्रसाईंको ल्यापटपमा त्यस्ता गतिविधिको पनि सत्यतथ्य जाँच गरिने भएको छ ।पटक-पटक पक्राउ पर्दै रिहा हुँदै आएका प्रसाईंको घरबाट प्रहरीले खानतलासी गरेर मोबाइल र ल्यापटप लगेको भने यो पहिलो पटक हो ।