
प्रतीकात्मक तस्वीर ।
सप्तरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन्। शम्भुनाथ नगरपालिका वडा नम्बर-३ का स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया खातुन घरपछाडि मृत फेला परेकी हुन्। उनको घरदेखि करिब ६० मिटर पछाडि झाडीमा शव फेला परेको हो। घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीको टोलीले घटनाबारे आवश्यक अनुसन्धान तथा छानबिनको प्रक्रिया अगाडि बढाएको छ ।
यता बारामा दुई दिनअघि मात्रै ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कार गरी हत्या गरेको अवस्थामा शव फेला परेको थियो । हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
यस्तै बारामै हिजो अपराह्नदेखि हराइरहेकी बालिका आज बिहान सकुशल फेला परेकी छन्। कलैया उपमहानगरपालिका –१ कटि पर्सा टोलबाट हराएकी बालिकालाई आज बिहान सिस्वास्थित बाटोमा फेला पारिएको हो। बालिकाको खोजीका लागि प्रहरीले रातभर विभिन्न समूहमा प्रहरी टोली परिचालन गरेको थियो। बालिकालाई उनका बुबा मुकेशकुमार मण्डलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।