काठमाडौं, भदौ ८ :

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् । एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच भएको तीन बुँदे सहमति अनुसार गएको सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहण भएको थियो । त्यसअगाडि नेपाली कांग्रेसले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन भदौ ३ गते नै फिर्ता लिएको पत्र संसद् सचिवालयमा दर्ता गरिसकेको छ । गएको साउन ९ गते भएको एमाले र नेकपाबिच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो ।

संविधानको धारा १६८ (५) अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री कार्कीले २०८१ वैशाख ३१ गते पहिलो पटक विश्वासको मत लिएका थिए । एमाले र तत्कालीन माओवादीबिचको गठबन्धन टुटेर कांग्रेससँग गठबन्धन गरेपछि दोस्रो पटक मुख्यमन्त्री कार्कीले २०८१ असोज २ गते विश्वासको मत लिएका थिए ।

कोशी प्रदेशसभामा ९२ सदस्य छन् । जसमा एमालेका ४० र कांग्रेसका २९ सदस्य रहेका छन् । यस्तै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका १७, राप्रपाको सभामुखसहित ५ र जसपाका १ सांसद छन् ।

नेपाली कांग्रेसले मुख्यमन्त्री कार्कीको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । आज बसेको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए । राप्रपा भने तटस्थ बस्ने भएको छ ।