मकवानपुर, भदौ ९ :

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज विश्वासको मत लिदैछन् ।

सभाको बैठक भोलि अपराह्न ४  बजे हुने भएको छ ।

बैठक प्रदेशका मुख्य मन्त्री किरण थापाले विश्वासको मत लिने प्रयोजनका लागि नै आह्वान भएको हो ।

हिजो  साँझ ८ बजेका निर्धारण गरिएको बैठक आजका लागि सारिएको प्रदेश सभा सचिव राम कुमार पौडेलले  जानकारी दिए ।

प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको मिति र समय परिवर्तन गरेका हुन् । हिजो विश्वासको मत दिने बेला सत्ता साझेदार नेकपाका सात सांसद अनुपस्थित भएपछि मुख्यमन्त्री थापा थप दबाबमा परेका थिए । मन्त्री बन्न नपाएको भन्दै असन्तुष्ट रहेका युवराज चौलागाईं, रुकु चौलागाईं, उर्मिला लामा, गङ्गा नारायण श्रेष्ठ, लक्ष्मण लम्साल, कृष्ण खनालसहित सात सांसद काठमाडौँमा रहेको बताइएको छ।

राप्रपा केन्द्रले बागमती प्रदेशमा कुनै पक्षलाई समर्थन नगर्ने निर्णय गरे पनि संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको तर्फबाट सरकारलाई समर्थन जनाएपछि थापा मुख्यमन्त्री बनेका हुन् । 

यो निर्णयविरुद्ध राप्रपा बागमती प्रदेशकी सचेतक कुमारी तामाङले उच्च अदालत हेटौँडामा रिट दायर गरेकी छन्।

रिटमा अदालतले कारण देखाउ आदेश जारी गर्दै भदौ १० गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ। 

रिटको टुङ्गो नलागेसम्म विश्वासको मत लिन नमिल्ने अडान कांग्रेस र राप्रपा केन्द्रले राख्दै आएका छन्।