रसुवा, भदौ १० :

रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियरसहितका ६० कर्मचारी सम्पर्कविहीन भएका छन् । रसुवाको भोटेकोसी नदीमा आएको बाढीको कारणले सो जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन् ।

लाङटाङ जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका सचिव विजयमोहन भट्टराईले आयोजनामा कार्यरत इन्जिनियरसहित ६० जना कर्मचारी सम्पर्कविहीन भएकाले खोजी कार्य गर्न सरकारसँग माग गर्नुभएको छ ।

“आयोजनाको सुरुङको क्रङ्क्रिट ढलानको काम भइरहेको थियो । सो कार्यमा ६० भन्दा धेरै कर्मचारी सम्पर्कविहीन भइरहनुभएको छ । त्यसैले खोजी गर्नका लागि सरकारसँग अनुरोध गर्दछु”, उनले भने, “बाढीले जलविद्युत् आयोजनाको संरचनामा गम्भीर क्षति पु¥याएको छ ।” उनले नदीसतहभन्दा १० मिटरमाथि रहेको सुरुङमा समेत असर पारेको बताए ।