काठमाडौं, भदौ १० :

प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरी भारतीय समकक्षी नरेन्द्र मोदीले रसुवा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

मोदीले शाहसँगको कुराकानीका क्रममा विपद्को यस कठिन घडीमा भारत र भारतीय जनता नेपाली नागरिकको साथमा रहेको बताएका छन्। उनले नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको प्रतिबद्धता जनाएका छन्।

शाहसँगको संवादबारे जानकारी दिँदै मोदीले सामाजिक सञ्जालमार्फत नेपालमा बाढीका कारण भएको क्षतिप्रति समवेदना व्यक्त गरेको उल्लेख गरेका छन्। उनले नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति भारतको ऐक्यबद्धता रहेको बताएका छन्।

मोदीले राहत तथा उद्धार कार्यमा आवश्यक सहयोगका लागि भारतीय अधिकारीहरूले नेपाली सरकारी निकायसँग समन्वय गरिरहेको जानकारीसमेत दिएका छन्। रसुवालगायतका क्षेत्रमा पछिल्लो समय आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि उद्धार, राहत तथा पुनःस्थापनाका प्रयास भइरहेका छन्।