
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु भएकामध्ये अधिकांशको अझै सनाखत हुन सकेको छैन। नेपाल प्रहरीले हालसम्म बाढीबाट ४८९ जनाको शव फेला परेको जनाएको छ।
प्रहरीका अनुसार फेला परेका शवमध्ये ९६ जनाको मात्रै पहिचान भएको छ। पहिचान भएका शव आफन्तले बुझिसकेका छन् भने बाँकी शवको सनाखत हुन सकेको छैन।
बाढीपछि फेला परेका शवहरू रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र पश्चिम नवलपरासीलगायतका जिल्लाबाट संकलन गरिएको प्रहरीले जनाएको छ।
फेला परेका शवलाई शव भेटिएको जिल्लासँगै काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही र कपिलवस्तुका विभिन्न अस्पतालमा राखिएको छ। सनाखत हुन बाँकी शवहरू सम्बन्धित अस्पताल तथा शवगृहमा सुरक्षित राखिएका छन्।
बाढीमा आफन्त हराएका परिवारहरू भने हातमा आफन्तको तस्बिर बोकेर विभिन्न अस्पताल पुग्दै आफ्ना मानिसको खोजी गरिरहेका छन्। अस्पतालमा राखिएका शवको तस्बिर हेरेर आफन्तले पहिचान गर्ने प्रयास गरिरहेका छन्।
बाढीका कारण ठूलो मानवीय क्षति भएपछि हराइरहेका व्यक्तिको खोजी तथा फेला परेका शवको पहिचान गर्ने काम अझै जारी रहेको प्रहरीले जनाएको छ।