
प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको जतिसक्दो चाँडो उद्धार गरिने बताएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहितको प्रतिनिधिमण्डलसँगको भेटमा उनले सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि विज्ञसहितको टोलीले प्रयास जारी राखेको स्पष्ट पारे ।
“सुरुङभित्र थुनिएका व्यक्तिको उद्धार कसरी गर्ने भन्ने बारेमा प्रधानमन्त्रीको जिज्ञासा थियो”, प्रधानमन्त्रीसँगको भेटपछि पूर्वऊर्जामन्त्री घिसिङले सञ्चारकर्मीसँग भने, “फसेका व्यक्तिको उद्धारका लागि सुरुङ क्षेत्रमा आवश्यक उपकरण र जनशक्ति लैजान सुझाव दिएका छौँ ।”
भेटमा प्रधानमन्त्रीले सुरुङमा फसेका नागरिकको सकुशल उद्धारका लागि सरकारले जस्तोसुकै साधनस्रोत र जनशक्ति परिचाल गर्ने बताउनुभएको उनले जानकारी दिए । “प्रधानमन्त्रीले स्वदेशमै उपलब्ध साधनस्रोत र बाहिरबाट पनि ल्याउनुपर्ने छ भने पनि त्यसलाई तत्काल परिचालन गरिने विश्वास दिलाउनुभएको छ”, घिसिङले भने ।
अध्यक्ष घिसिङले रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा राहत वितरणलाई तीव्र बनाउन सडक सञ्जाल तत्काल पुनःस्थापित गर्नुपर्ने सुझाव दिए । “स्याफ्रुबेँसीसम्म सडक सञ्जाल पु¥याउने र बेलिब्रिज राख्ने भन्ने बारेमा व्यापक छलफल भयो”, उनले भने ।