
दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी आंशिक रूपमा थुनिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री भट्टले घटनाबारे अपि हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरा, दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेल, आन्तरिक मामिला मन्त्रालयका सचिव धर्मराज जोशीलगायत सम्बन्धित अधिकारीसँग जानकारी लिँदै सतर्क रहन निर्देशन दिएका हुन्।
नदी थुनिएपछि पानीको सतह बढ्न सक्ने तथा थुनिएको नदी अचानक खुल्दा तल्लो तटीय क्षेत्रमा जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै मुख्यमन्त्री भट्टले नदी किनारका बासिन्दालाई पूर्वसावधानी अपनाउन आग्रहसमेत गरे ।
उनले सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुखसँग समेत घटनाको अवस्थाबारे जानकारी लिँदै चौलानी नदी किनारका बासिन्दालाई सम्भावित जोखिमबारे सचेत गराउन तथा सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
उनले आन्तरिक मामिला मन्त्रालय तथा मातहतका सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन, घटनाको निरन्तर निगरानी गर्न र आवश्यक परे तत्काल खोज, उद्धार तथा राहतका लागि परिचालन हुने गरी तयारी अवस्थामा रहन निर्देशन दिए । नदी आसपास उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह यसैबीच जिल्ला प्रशासन कार्यालय दार्चुलाले चौलानी नदी आसपासका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।