काठमाडौं, भदौ २० :

भोटेकोसी बाढीले वितण्डा मच्चाएको ११ औं दिनमा सुरक्षाकर्मीको संयुक्त उद्धार तथा खोजी टोलीले थप दुईजनाको सकुशल उद्धार गरेको छ। यससँगै बाढीपछि सुरुङ तथा घरमा फसेका चारजनाको जीवितै उद्धार गरिएको छ।

बाढीको १० औं दिनमा त्रिशूली–३ ‘ए’ बाट दुईजनाको जीवितै उद्धार गरिएको थियो। त्यसको भोलिपल्ट शनिबार अपर त्रिशूली–१ बाट एक चिनियाँ नागरिक र बेत्रावतीबाट चण्डिका श्रेष्ठको सकुशल उद्धार गरिएको हो।

शुक्रबार त्रिशूली–३ ‘ए’ बाट सञ्जय साह र कविर महर्जनको उद्धार गरिएको थियो। शनिबार बेत्रावतीबाट उद्धार गरिएकी श्रेष्ठ नुवाकोटको विदुर नगरपालिका–१० की हुन्। उनलाई सशस्त्र प्रहरी बल, नेपालका इन्सपेक्टर सुमन विकको कमान्डमा खटिएको टोलीले उद्धार गरेको हो।

विनाशकारी बाढीपछि सुरुङमा फसेका तथा घरमा पुरिएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य अझै जारी छ। बाढी आएको लामो समय बितिसक्दा पनि व्यक्तिहरू जीवितै फेला परेर उद्धार भइरहेकाले खोजी तथा उद्धार अभियानमा आशा थपिएको छ।

भोटेकोसीमा बाढी आउँदा विभिन्न जलविद्युत आयोजनामा काम भइरहेको थियो। त्यसकारण सुरुङभित्र अझै धेरै मानिस फसेको हुनसक्ने अनुमान गरिएको छ। त्यस्तै, बाढीले क्षति पुर्‍याएका तथा पूर्ण रूपमा भत्किएका घरहरूमा समेत मानिस च्यापिएको हुनसक्ने आशंका गरिएको छ।

क्षतिग्रस्त घरबाट समेत जीवितै उद्धार भएको घटनाले अन्य स्थानमा पनि मानिस फसेको हुनसक्ने सम्भावना बढाएको छ। त्यसैले सुरुङ, घर तथा बाढी प्रभावित अन्य क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई थप तीव्रता दिनुपर्ने देखिएको छ।