
भोटेकोसी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै काठमाडौंको बौद्धमा शनिबार श्रद्धाञ्जली तथा अन्तरविमर्श कार्यक्रम गरियो। दि भानासु होटलमा आयोजित कार्यक्रममा बाढीमा ज्यान गुमाएकाप्रति चिरशान्तिको कामना गर्दै शान्तिदीप प्रज्वलन तथा श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन भएकाहरूलाई तत्काल खोजी गरी परिवारको सम्पर्कमा ल्याउन तथा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन आग्रह गरिएको थियो।
राहत तथा मानवीय सेवामा संलग्न सबैप्रति आभार व्यक्त गर्दै विपत्तिबाट प्रभावित परिवारको पीडा कम गर्न प्रार्थना सभा पनि गरिएको थियो। त्यस अवसरमा दि भानासु होटलकी कार्यकारी निर्देशक उषा गिरीको नेतृत्वमा बाढी प्रभावित क्षेत्रमा पटक-पटक राहत सामग्री पुर्याइएको समेत जानकारी गराइएको थियो।
कार्यक्रमको पहिलो चरण श्रद्धाञ्जली तथा आध्यात्मिक चिन्तनमा केन्द्रित थियो भने दोस्रो चरण जापानी नागरिक काजु योशिदाद्वारा लिखित कृतिमाथिको बौद्धिक अन्तरविमर्शमा केन्द्रित थियो।
काजु योशिदाका ‘स्वचालित स्वतन्त्रता’ तथा सुसंगत एकाग्रता र स्वतन्त्रतासम्बन्धी कृतिमाथि भएको अन्तरविमर्शमा स्वामी डा. चिन्तामणिनाथ योगी, संस्कृतिविद् प्रा.डा. वीणा पौडेल, शिक्षाविद् प्रा.डा. रामप्रसाद दाहाल, इन्जिनियर प्रा. लिलाराज कोइराला, लेखक काजु योशिदा तथा युवा अर्थशास्त्री क्षितिज दाहालले विचार राखेका थिए।
वक्ताहरूले कृतिमा प्रस्तुत स्वतन्त्रता, चेतना, एकाग्रता र मानवीय सम्बन्धका विषयमा दार्शनिक तथा व्यावहारिक दृष्टिकोणबाट चर्चा गरेका थिए। मानिसको विचार, संस्कृति र व्यवहार फरक भए पनि मूल्य, स्वभाव र गुणहरूबीच तालमेल हुन सक्ने तथा गहिरा अवरोध हटाउन सके पूर्ण स्वतन्त्रता र आनन्दको अनुभूति गर्न सकिने विषयमा बहस केन्द्रित थियो।
कृतिको मूल भावबारे चर्चा गर्दै वक्ताहरूले मानिसले अनावश्यक दोषारोपणभन्दा आफ्नै भ्रम र मानसिक बन्धनलाई पहिचान गर्नुपर्ने धारणा व्यक्त गरे। ‘ब्रह्माण्ड सधैं स्वतन्त्र छ र मानिस पनि सदैव स्वतन्त्र छ’ भन्ने विचारलाई कृतिको मूल दार्शनिक अवधारणाका रूपमा व्याख्या गरिएको थियो।
कार्यक्रममा आध्यात्मिक चिन्तक हरिभक्त सिग्देल, अनेसास नेपाल च्याप्टरका पूर्वअध्यक्ष राजेन्द्र केसी तथा कवि शान्ता रिसालले शुभकामना मन्तव्य दिएका थिए। कवि रिसालले समसामयिक शान्तिसम्बन्धी कविता प्रस्तुत गरेकी थिइन्।
अन्तरविमर्शका क्रममा विभिन्न क्षेत्रबाट सहभागी व्यक्तिहरूले कृतिमा आधारित प्रश्न तथा जिज्ञासा राखेका थिए। इन्दिरा ढकाल, रूपा रिसाल, कुमार नगरकोटी, श्याम दाहाल, प्रा. मुकुन्दराज दाहाल, निर्मलरमण पराजुली, विनोद कुइकेल, सञ्चारकर्मी सुरेन्द्र पौड्याल, नीता मजुमदार र शर्मिला तिमिल्सिनालगायतले प्रश्नोत्तरमा सहभागिता जनाएका थिए। सहभागीका प्रश्नको जवाफ लेखक काजु यशिदाले दिएका थिए।
कार्यक्रममा उषा गिरीले आफ्ना धारणा थप्दै जापानी भाषामा अनुवाद गरेकी थिइन्। यसबाट कार्यक्रममा सहभागी जापानी नागरिकहरूलाई विमर्शका विषयवस्तु बुझ्न सहज भएको थियो। शिक्षाविद् प्रा.डा. रामप्रसाद दाहालले उषा गिरीको व्यवसायभन्दा सेवाभाव बढी प्रभावशाली देखिएको उल्लेख गर्दै उनलाई ‘सेवा गिरी’ भन्नुपर्ने जस्तो लाग्ने धारणा राखेका थिए। कार्यक्रममा पुस्तकको डिजाइनमा योगदान पुर्याउने कम्प्युटर डिजाइनर दीपेन्द्र बस्नेतलगायतलाई लेखक काजु योशिदाले धन्यवाद दिँदै सम्मान व्यक्त गरेका थिए।
‘बाहिरको अवस्था कि भित्रको चेतना?’भन्ने मूल प्रश्नमा केन्द्रित विद्वत् सभामा नेपाल–जापानबीचको मित्रता, एकता तथा सांस्कृतिक सम्बन्धको महत्त्वमाथि समेत प्रकाश पारेको थियो। शिक्षासेवी तथा समाजसेवी कल्पना गिरीको उद्घोषणमा सञ्चालन भएको कार्यक्रममा करिब ५१ जना सहभागी थिए ।