काठमाडौं, भदौ ३० :

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेशकुमार मल्लले सरकारका केही मन्त्रीहरुले गैरराजनीतिक गतिविधि गरेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद मल्लले सरकारका केही मन्त्रीहरूले विपक्षी र सर्वसाधारणलाई तर्साउने, धम्क्याउने र गैरराजनीतिक अभिव्यक्ति दिने गरेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न ध्यानाकर्षण गराएका हुन् ।  

त्यस्तै उनले जलविद्युत सुरुङमा खोजी कार्यको अवस्थाका बारेमा जानकारी दिन माग गरे । बेपत्ता तथा मृतकका आफन्तहरू अन्तिम संस्कारका लागि डीएनए रिपोर्टको पर्खाइमा रहेकाले परीक्षण छिटो सम्पन्न गरी परिवारलाई आधिकारिक जानकारी दिन समेत उनले माग गरे । उनले प्रहरी संगठनले आफ्ना सुरक्षाकर्मीका लागि राहत घोषणा गरेजस्तै मृतक तथा बेपत्ता आम नागरिकका परिवारका लागि पनि सरकारले तत्काल राहत र पुनस्र्थापना प्याकेज ल्याउनुपर्ने धारणा राखे । 

उनले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको नियमित पठनपाठन तत्काल सुरु गर्न, बालबालिका लक्षित मनोपरामर्श र किशोरी सुरक्षा कार्यक्रम सञ्चालन गर्न र प्रभावित क्षेत्रका एसईई दिने विद्यार्थीहरूका लागि विशेष प्याकेजसहितको कक्षा सञ्चालन गर्न आग्रह गरे ।

साथै सांसद मल्लले देशभरका अभिभावकविहीन बालबालिकाको संरक्षण र शिक्षाको जिम्मेवारी लिन संघीय सरकारले एकरूप नीति घोषणा गर्नुपर्ने बताए । बाढीबाट बगेका सडक र झोलुङ्गे पुलको ठाउँमा तुइन नभई तत्काल बेलिब्रिज तथा सुरक्षित झोलुङ्गे पुल समयसीमा तोकेर निर्माण गर्नुपर्ने उनको भनाइ छ ।