काठमाडौं, भदौ ३० :

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले संस्थापन पक्षले एकपक्षीय रूपमा महाधिवेशनको मिति तोकेर प्रक्रिया अघि बढाउँदा पार्टी विभाजनतर्फ धकेलिन सक्ने चेतावनी दिएका छन्।

मंगलबार सातबुँदे अपिल जारी गर्दै देउवाले पार्टीभित्र सहमतिको पर्याप्त सम्भावना हुँदाहुँदै संस्थापन पक्षले हतारमा महाधिवेशन प्रक्रिया अघि बढाएको आरोप लगाएका हुन्। उनले उक्त प्रक्रियामा सहभागी नहुन नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरेका छन्।

देउवाका अनुसार पार्टीको विधान र केन्द्रीय समितिको निर्णयविपरीत विशेष महाधिवेशन गर्ने समूहले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो। अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि, विधान र सर्वमान्य कानुनी सिद्धान्तविपरीत हुने उनको दाबी छ।

‘सहमति हुने पर्याप्त सम्भावना हुँदाहुँदै हतारमा गरिएको एकपक्षीय निर्णयले पार्टीलाई विभाजनतर्फ धकेल्छ,’ देउवाले अपिलमा भनेका छन्।

उनले २००७ सालदेखि हालसम्म भएका राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसले निर्वाह गरेको भूमिकाको स्मरण गर्दै पार्टीको ऐतिहासिक विरासत कुनै व्यक्तिको महत्त्वाकांक्षाका कारण निस्तेज हुन नसक्ने बताएका छन्।

आफूलाई कुनै पद वा जिम्मेवारीको लोभ नरहेको स्पष्ट पार्दै देउवाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व भएको बताएका छन्।

पार्टीलाई विभाजन गर्ने वा कमजोर बनाउने गतिविधि हुँदा आफू मुकदर्शक भएर बस्न नसक्ने उल्लेख गर्दै उनले १४औँ महाधिवेशनबाट स्थापित वैधानिक प्रक्रियालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। महाधिवेशनको मिति र प्रक्रिया नै विवादित बनेपछि कांग्रेसभित्रको संस्थापन र देउवा पक्षबीचको विवाद थप चर्किने देखिएको छ।