
परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री खनालले ‘विगतको बोझ’ (वल्ड ब्यागेज) भन्ने अभिव्यक्ति नेपालको गरिमामय इतिहास, राष्ट्रिय विरासत, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय हितको रक्षा र ऐतिहासिक दस्तावेजको संरक्षणप्रति लक्षित नभएको स्पष्ट पारे ।
बैठकमा सांसद सीता थपलियाले परराष्ट्रमन्त्री खनालले भारत भ्रमणका क्रममा द्विपक्षीय वार्तामा ‘वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको’ अभिव्यक्ति दिएका सन्दर्भमा त्यसको अर्थ, विगतका सरकारका कुन–कुन निर्णय ‘ब्यागेज’ हुन्, लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नक्सालाई संविधानमा समावेश गर्ने निर्णय ‘पुरानो ब्यागेज’ हो कि होइन तथा विगतका सरकारका परराष्ट्र नीतिमा के–कस्ता गल्ती भए भन्ने विषयमा प्रश्न गरिन्।
उक्त प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे । नेपालले छमेकी एवं मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई सदैव उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उनले ती देशसँग द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने दिशामा उच्चस्तरीय भ्रमणहरूको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे । छिमेकी मुलुक भारत र चीनको पछिल्लो औपचारिक भ्रमणबारे आफूले सदनलाई जानकारी गराइसकेको उनले स्पष्ट पारे ।
लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको राजनीतिक नक्सा र त्यसलाई अनुमोदन गर्ने संविधान संशोधन गर्ने संसद्को सर्वसम्मत निर्णय समग्र नेपाली जनताको साझा राष्ट्रिय सङ्कल्प भएको मन्त्री खनालले बताए । “यो हाम्रो संवैधानिक र सार्वभौम दस्तावेज हो, जसलाई कुनै पनि सन्दर्भमा ‘बोझ’ मान्न सकिँदैन”, उनले भने । मन्त्री खनालले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, सिमानाको रक्षा र स्वाभिमानलाई अक्षुण्ण राख्ने विषय कुनै पनि सरकारको सर्वोपरि एवं स्थायी जिम्मेवारी भएको बताए।
परराष्ट्रमन्त्री खनालले वर्तमान सरकार कुनै पनि पूर्वाग्रह, संकीर्णता र अनावश्यक अविश्वासको बन्दी नबनी पारस्परिक समानता, सम्मान, विश्वास र आर्थिक साझेदारीका आधारमा छिमेकी तथा मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई रूपान्तरणकारी दिशा दिन चाहेको स्पष्ट पारे । “राष्ट्रिय हितलाई सर्वोपरि राख्दै स्पष्ट, परिपक्व र परिणाममुखी कूटनीतिमार्फत मुलुकको आर्थिक समृद्धि हासिल गर्नु नै वर्तमान सरकार र परराष्ट्र मन्त्रालयको स्पष्ट दृष्टिकोण रहेको व्यहोरा अनुरोध छ”, मन्त्री खनालले भने ।