काठमाडौं, असोज १ :

रास्वपा सांसद लिमा अधिकारीले आर्थिक पुनर्जागरण र पुनर्निर्माणको सङ्कल्प प्रस्ताव संसद्बाट तत्काल पारित गर्न माग गरेकी छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद अधिकारीले इतिहासमा ठूला पुनर्जागरणहरू विध्वंस र सङ्कटकै भग्नावशेषबाट जन्मिएको स्मरण गराउँदै विपद्लाई आर्थिक पुनरुत्थानको प्रस्थानविन्दु बनाउनुपर्ने धारणा समेत राखिन्।

उनले क्षतिग्रस्त आयोजनाहरूको हकमा पुनर्निर्माण, द्रुत बिमा भुक्तानी, कर्जाको पुनर्संरचना/पुनर्तालिकीकरण र विशेष आर्थिक प्याकेज कार्यान्वयन गरिनुपर्ने बताइन् ।

भोटेकोशीको विनाशकारी बाढीले रणनीतिक सडक, उत्तरी नाका र आपूर्ति शृङ्खला अवरुद्ध पार्दै मुलुकको कमजोर अर्थतन्त्रमाथि थप गम्भीर आघात पुराएको उनले बताइन् ।

उनले फरक–फरक दल र विचार भए पनि राष्ट्रियता, सार्वभौमिकता, सुरक्षा, परराष्ट्र सम्बन्ध र राष्ट्रिय अर्थतन्त्र कुनै दल विशेषको मात्र एजेन्डा हुन नसक्ने धारणा राखिन् ।