
काठमाण्डौँ , कात्तिक ६ :
नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन आजदेखि पोखरामा सुरु हुँदै छ ।
अधिवेशनका लागि अध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरू पोखरा पुगिसकेका छन्। अधिवेशनमा अध्यक्ष भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्नुहुने छ ।
अधिवेशनमा करिब पाँच सय जना प्रतिनिधि सहभागी हुने नेसपाले जनाएको छ ।
पोखरा सभागृहमा हुने अधिवेशनमा नेसपाले तयार पारेको विधान मस्यौदा र घोषणा पत्र मस्यौदामाथि समूहगत छलफल गरेर सुझाव समेट्दै पारित गर्ने तयारी छ।
जिल्ला संयोजक सहित कम्तिमा एक जना महिलासहित हरेक जिल्लाबाट तीन जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने नेसपाले जनाएको छ।
२०७९ मा जनता समाजवादी पार्टीबाट छुट्टिएर नेपाल समाजवादी पार्टी गठन भएपछि यो पहिलो विधान अधिवेशन हुन लागेको हो।
विधान अधिवेशन भोलि नै सम्पन्न हुने जनाइएको छ ।