
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टी विभाजन हुन नदिन निर्वाचन आयोग र अदालतले आधिकारिक मानेको पक्षमा सहभागी भएको बताएका छन् ।
बुधबार रिपोटर्स क्लबले काठमाडौंमा गरेको साक्षात्कारमा नेता विश्वकर्माले पार्टीको आधिकारिकताका विषयमा कानुनी लडाइँ जारी रहे पनि पार्टी विभाजन हुन नदिन र एकताबद्ध राख्न निर्वाचन आयोग र अदालतले आधिकारिक मानेको कांग्रेसको पक्षमा उभिएको बताए ।
उनले भाद्र २४ गते शेरबहादुर देउवामाथि भएको घटना दुःखद र निन्दनीय भएको उल्लेख गर्दै उपचारपछि फर्किएका देउवालाई सर्वोच्च नेताका रूपमा स्वीकार्न सबै तयार रहेको बताए । आधिकारिक पार्टी कार्यालय सानेपाको आह्वानमा हुने महाधिवेशनमा देउवाले प्रमुख अतिथिका रूपमा सहभागी भएर उद्घाटन गरिदिनुपर्ने उनले बताए ।
उनले गगन थापा र शेरबहादुर देउवा दुवै एक–आपसमा संवाद गर्न र भेट्न इच्छुक रहेको उल्लेख गर्दै केही दिनभित्रै प्रत्यक्ष संवाद र सहमति गराएर १५ औँ महाधिवेशनलाई पार्टी एकताको महाधिवेशन बनाउन पहल भइरहेको दाबी गरे ।
नेता विश्वकर्माले आधिकारिक कार्यालय सानेपा र असन्तुष्ट पक्ष रहेको चुनदेवी नमिली नेपाली कांग्रेसको जनमत, शक्ति र समर्थन प्राप्त हुन नसक्ने भएकाले दुवै पक्ष मिलेर अगाडि बढ्नुको विकल्प नरहेको धारणा राखे ।