हेटौंडा, असोज ९ :

निरन्तरको वर्षाले पृथ्वी, बीपी र कान्ति राजमार्गमा पहिरोले सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यका जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको त्रिभुवन राजपथमा सवारी चाप बढेको छ। 

सवारीको चाप व्यवस्थापन गर्न मकवानपुर प्रशासनले काठमाडौं जाने र हेटौँडा आउने सवारीसाधनका लागि छुट्टाछुट्टै समय तालिका निर्धारण गरेको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार हेटौँडाबाट काठमाडौं जाने सवारीसाधनलाई शुक्रबार हेटौँडा-१, चौकीटोलबाट दिउँसो २ बजेसम्म मात्र सञ्चालन गर्न दिइनेछ। शनिबार बिहान ४ बजेदेखि ८ बजेसम्म र राति १० बजेदेखि आइतबार बिहान २ बजेसम्म पनि काठमाडौं जाने सवारीले त्रिभुवन राजपथ प्रयोग गर्न पाउनेछन्।

त्यसैगरी, काठमाडौंँबाट हेटौँडातर्फ आउने सवारीसाधनलाई शुक्रबार साँझ ७ बजेदेखि राति ११ बजेसम्म सिमभञ्ज्याङ चौकीबाट सञ्चालन गर्न दिइनेछ। शनिबार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म तथा असोज ११ गते बिहान ७ बजेदेखि ११ बजेसम्म पनि काठमाडौं–हेटौँडा सडकखण्डमा सवारी सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ।

प्रशासनले अर्को व्यवस्था नभएसम्म इन्धन र एलपी ग्यास बोकेका सवारीसाधनबाहेक १० चक्केभन्दा ठूला तथा १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीसाधनलाई त्रिभुवन राजपथमा सञ्चालन गर्न पूर्ण रूपमा रोक लगाएको छ। 

लगातारको बाढीपहिरोका कारण प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि त्रिभुवन राजपथ काठमाडौं आवतजावतका लागि महत्वपूर्ण वैकल्पिक मार्ग बनेको छ। बढ्दो सवारी चाप र सडकको क्षमताअनुसार यातायात व्यवस्थापन गर्न प्रशासनले समय निर्धारण गरेको हो।