
अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्याएको छ । जिल्लाका विभिन्न ठाउँमा गएको पहिराले घर भत्काउनुका साथै सडक अवरुद्ध छन् भने एक जना बेपत्ता छन् । यहाँको रिब्दीकोट गाउँपालिका–६ धुस्तुङस्थित गोलफानमा आज दिउँसो गएको पहिराले दुईवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए।
उनका अनुसार पहिरोका कारण रामबहादुरको चार जनाको परिवार सकुशल रहेका छन् भने केसुरामको चार जनाको परिवारमध्ये उनकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु पहिरोमा परी बेपत्ता भएकी छन् । परिवारका अन्य सदस्य भने सकुशल रहेको प्रनाउ भट्टराईले बताए ।
पहिरोबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भए पनि अन्य चौपायामा क्षति नभएको उनको भनाइ छ । पानी निरन्तर परिरहेको र घरभन्दा माथिको मोटरबाटोबाट ढुङ्गा–माटोसहितको लेदो निरन्तर बगिरहेकाले तत्काल उद्धारकार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता सारुको खोजीकार्य जारी छ ।