रामेछाप, कात्तिक ६ :

फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ ।

मन्थली नगरपालिका- ५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत गरी सुरु गरेको ड्रागन फ्रुट र सयपत्री फूलको खेती हेर्न त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन् ।

पाँच रोपनीमध्ये तीन रोपनीमा उहाँले ड्रागन फ्रुट मात्रै लगाउनुभएको छ भने बाँकी दुई रोपनीमा ड्रागन फ्रुटसँगै सयपत्रीको पनि खेती गरिरहनुभएको छ । तिहार सुरु हुने समयमा झपक्कै फूलेका सयपत्रीले त्यहाँको दृश्य मनमोहक बनाइदिएको छ ।

लामो समयदेखि बनमारा मात्रै उम्रिएको जग्गामा दुई वर्षअघि शाहीले ड्रागन फ्रुट लगाउने निर्णय गर्नुभएको थियो । सुरुमा तीन सय बोट ड्रागन फ्रुट रोप्नु भएका उहाँले त्यससँगै सयपत्री फूल पनि रोप्नु भएको थियो । एउटै जग्गाबाट अहिले उहाँले दोहोरो लाभ लिनुभएको छ ।

उहाँले सयपत्री बाहेक विभिन्न प्रजातिका बिरुवाहरू उत्पादन गर्न नर्सरीको समेत व्यवस्था गरेको सुनाउनुभयो ।

लामो समयदेखि काठमाडौँमा फूलको नर्सरी सञ्चालन गर्नुभएका उहाँले त्यही अनुभवका आधारमा मन्थलीमा पनि फूल र विभिन्न बिरुवाको नर्सरी सुरु गरेको बताउनुभयो । आफ्नै गाउँमा केही गरौँ र स्थानीय किसानलाई सहयोग गर्नुपर्छ भन्ने सोचले आफूले यहाँ खेती सुरु गरेको उहाँको भनाइ छ ।

शाहीलाई नगरपालिकाबाट पनि सहयोग प्राप्त भइसकेको छ । फूल खेतीका लागि नगरपालिकाले एक लाख अनुदान उपलब्ध गराएको नगर कार्यपालिकाका सदस्य एवं वडा नं ५ का अध्यक्ष रबिन कार्कीले जानकारी दिनुभयो ।

साथै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा मन्थलीमा सञ्चालित जुनार जोन कार्यक्रम मार्फत कागतीका बिरुवा उत्पादनका लागि पाँच लाख अनुदान लिनुभएको परियोजनाका कार्यालय प्रमुख थिरलाल गैरेले बताउनुभयो ।