काठमाडौं, असोज ११ :

 पाशुपत क्षेत्रस्थित नेपाल वेदविद्याश्रम, वनकालीको प्राङ्गणमा ‘पशुपति काव्य साँझ’सम्पन्न भएको छ। 

शिक्षाविद् तथा वरिष्ठ साहित्यकार प्रा. डा. रामप्रसाद दाहालले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।   प्रा. दुर्गाप्रसाद दाहालको अध्यक्षतामा सञ्चालित उक्त काव्यिक समारोहमा २५ जना कविहरूले आ-आफ्ना सिर्जना प्रस्तुत गरेका थिए। कार्यक्रममा स्वामी रमणानन्द गिरीले कविताका माध्यमबाट भगवान् पशुपतिनाथ र शिव-महिमाको आध्यात्मिक महत्त्वमाथि प्रकाश पारे।  

यसैगरी प्रमुख अतिथि एवं शिक्षाविद् तथा वरिष्ठ साहित्यकार प्रा. डा. रामप्रसाद दाहालले वाचन गरिएका कविताहरूको सुन्दर शैली र महनीय उदाहरणसहित समीक्षा गरेका थिए। 

उनले भने, ‘जब कवितामा कवित्व शक्ति, लय, भाव र भाषाको सुन्दर सन्तुलन मिल्छ, तब पाठक वा श्रोता स्वतः कविताको भावधारामा हराउँदै जान्छन्।’   
कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, नेपाल वेदविद्याश्रमका अध्यक्ष तथा प्रधानाध्यापक, विद्यालय परिवार, वरिष्ठ कवि, कलाकारका साथै समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। वक्ताहरूले संस्कार, संस्कृति, शिव-आराधना र साहित्यलाई एकसाथ जोड्दै काव्य-महिमाको उजागर गरेका थिए।