नेपाली कांग्रेसको सभापति पदका लागि गगनकुमार थापासहित तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत सभापति पदमा थापासँगै श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले पनि उम्मेदवारी दर्ता गराएका हुन्।
तीन जनामध्ये थापा सबैभन्दा पछि गएर मनोनयन दर्ता गराएका हुन् । उनले पार्टी भित्रको चुनावमा जित-हारलाई स्वाभाविक रूपमा लिँदै हार्दिकता कायम राख्नुपर्ने बताए ।
सभापतिमा थापाको मात्रै एकल उम्मेदवारी पर्ने र उनी नै निर्विरोध चयन हुने चर्चा परिचर्काचाका बीच दुई युवाले नेतृत्वको प्रतिस्पर्धामा आफूलाई उभ्याएका हुन् । हारजित कसको हुन्छ त्यो परिणामले नै देखाउने छ ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापतिमा चयन भएका थिए। उनी नेतृत्वको कार्यसमितिले नियमित महाधिवेशन अन्तर्गत अहिलेको १५औँ महाधिवेशन गराएको हो । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मनोनय दर्ता गर्ने क्रम सम्पन्न भएको छ ।
उम्मेदवारको नामावली फिर्ता लिने क्रम सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि असोज २२ गते निर्वाचन हुनेछ ।