न्याय परिषद्ले सर्वोच्च अदालतमा गरेको चार न्यायाधीश सिफारिस विवादमा परेको छ ।
वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले त्यसप्रति असहमतिसहित जनाउँदै फरक मत जाहेर गरेकी छन् । विधि र प्रक्रिया मिच्दै मनोमानी रूपमा न्यायाधीशहरूको नाम छनोट गरिएको भन्दै उनले फरक मत राखेकी हुन् ।
रोलक्रम मिच्दै, समावेशितालाई बेवास्था गर्दै संविधान, ऐन तथा न्यायका मूल्यमान्यता विपरीत नामहरू सिफारिस गरिएकोमा उनको फरक मत थियो । सरकारले रोलक्रम मिचेर हालका प्रधाननयायाधीश डा.मनोजकुमार शर्मालाई नियुक्ति गर्दा उनी स्वयं प्रधानन्यायाधीश हुनबाट बञ्चित भएकी व्यक्ति हुन् ।
यसैगरी, न्याय परिषद् सदस्य महेश नेपालले पनि सर्वोच्च अदालतका न्यायाधीश सिफारिसमा लिखित विमति राखेको खुलेको छ ।
न्यायपरिषद्को मंगलबारको बैठकले सर्वोच्च अदालतमा चारजना न्यायाधीशको सिफारिस गरेको थियो ।बैठकले उच्च अदालतका एक मुख्य न्यायाधीश सहित अरु तीन न्यायाधीशलाई सर्वोच्चमा सिफारिस गरेको हो ।
पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द ,चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चमा सिफारिस गरिएको छ ।